चितवनको माडी-ठोरी क्षेत्रमा पहिलो पटक अलग्गै बाघ गणना हुने

0
78

चितवन- नेपाल भारत सीमासगँ जोडिएको माडी-ठोरी क्षेत्रमा पहिलो पटक अलग्गै बाघ गणना हुने भएको छ ।

सोमेश्वर जौविक मार्गमा पर्ने यो क्षेत्र नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मीकि टाइगर रिर्जभसगैँ जोडिएको भाग समेत हो ।

पहिलो पटक यहाँ सन् २००८ मा ३ वटा र पछिल्लो सन् २०२२ मा गणना गर्दा ८ वटा बाघ भेटिएसँगै यहाँको इकोलोजिक सर्भेसहित बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

‘बाघको संख्या समेत माडी र ठोरीमा बढ्दै गयो उनले भने, सोमेश्वर जौविक मार्गको प्रभावकारीता र बाघको अवस्था बुझ्न गणना हुन लागेको हो ।’

माडीठोरी क्षेत्रमा यहि असोज २५ गतेदेखि औपचारिक रुपमा प्रति समूह २४ जना फिल्ड कर्मचारीसहित ६२ वटा क्यामरा राखेर बाघ गणनासँगै इकोलोजिक सर्भे हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बताए। गणना कात्तिक ३० गतेसम्म चल्नेछ ।

विश्व वन्यजन्तु कोषका वन्यजन्तु अनुसन्धानकर्ता शशांक पौडेलका अनुसार निकुञ्जको मध्यवर्तीमा पर्ने माडी ठोरीको नियमित अनुगमनसँगै ठाउँ कस्तो छ, थपिएको बाघको अवस्था के छ र बाघको फैलावट कस्तो भनेर सुक्ष्म अध्ययनका लागि एकमहिनासम्म क्यामरा ट्रयापिङद्वारा तस्विर संकलन गरी अनुसन्धान गरिनेछ ।

माडी र ठोरी क्षेत्रमा बाघको संख्या बढेसँगै संरक्षणमा देखिने चुनौति मावन-वन्यजन्तु द्वन्द्व कम गर्न समेत यो अनुसन्धानमूलक गणना प्रभावकारी हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको दावी छ ।

गणनामा बाघ मात्रै नभई अन्य जनावर र वनस्पतीको समेत अनुसन्धान गरिने छ ।

माडी १ सय ७० र ८० ठोरीको गरि २ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा दुई सेट क्यामरा ४ स्वायर मिटरको अन्तरमा राखिनेछ । पछिल्लो गणना अनुसार नेपालको तराई क्षेत्र हुदै भारतसम्म ८ देखि १० बाघ आउने जाने गर्दछन् ।

नेपालमा सन् २०२२ को गणनाको नतिजा अनुसार ३ सय ५५ बाघ रहेकोमा चितवन निकुञ्जमा मात्रै १ सय २८ रहेको छ ।

यसैबीच सोमबार पहिलो पटक अलग्गै गणना माडी ठोरीमा पर्ने मध्यवर्ती र वन समुहका पदाधिकारी बीच अन्तरक्रिया समेत सम्पन्न भएको छ । यहाँको सर्भेमा केअफ डब्लु, विश्व वन्यजन्तु कोष, विश्व संरक्षण संघ र जर्मन सहयोग संस्था जिटिजेडको सहकार्य रहेको छ ।।

https://www.ujyaalonepalnews.com/archives/32144

Previous articleभेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी
Next articleअरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु