भिमकाली सहकारी पदमपुरको नवौँ वार्षिक साधारणसभा

उज्यालो नेपाल, चितवन- पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ४ पदमपुरमा रहेको भिमकाली बचत तथा ऋण सहकारी संस्था लि. को नवौं बार्षिक साधारण सभा गरिएको छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेको सो कार्यक्रममा तीन महत्वपूर्ण प्रतिवेदन, विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान तथा एक बर्षमा गरेको आर्थिक उपलब्धी प्रस्तुत गरिएको छ ।

सो सहकारीले आर्थिक बर्ष २०७९/८० मा १० करोड २८ हजार ३५० रुपैयाँ ऋण लगानी गरि ४८ लाख २१ हजार ७३५ रुपैयाँ मुनाफा गर्न सफल भएको छ । १ करोड ५७ लाख ३० हजार ६३२ रुपैया आम्दानी गरेको सो सहकारीले १ करोड ६ लाख ५५ हजार १२१ रुपैँया  खर्च कटाएर ४८ लाख २१ हजार ७३५ रुपैयाँ  मुनाफा गर्न सफल भएको हो ।

२ हजार ९८ जना शेयर सदस्य रहेको सो सहकारीको शेयरपूँजी २ करोड ६२ लाख ५९ हजार, ऋण लगानी १० करोड २८ हजार र बचत संकलन ७ करोड ६९ लाख २८ हजार रहेको संस्थाका कोषाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद धितालले नीति तथा कार्यक्रम, सचिव नारायणी रिजालले वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष अमृत श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक रेवती प्रसाद ढकालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कष्ट बाल बचतकर्ता २ जना, उत्कष्ट बचतकर्ता २ जना, असल ऋणि २ जना, ज्येष्ठ शेयर सदस्य ३ जना, उत्कष्ट दैनिक कारोबार कर्ता ३ जन  र १ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष धितालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर रेग्मीले उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे । आर्थिक संकटको चपेटाले सर्वसाधारणहरु सहकारी शब्द सुन्ने बित्तिकै तर्सने गरेको भन्दै उनले  शेयर सदस्यहरुको मन जितेर आर्थिक गतिविधि चलायमान गराउन सहकारीले भूमिका खेल्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष धितालको अध्यक्षतामा भएको कार्यक्रममा  वडा नं ४ र ५ का वडाध्यक्षहरु क्रमश: मकरमान श्रेष्ठ र दिपक भट्टराई, कार्यपालिका सदस्य शान्ती महतो, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

लेखा समिति सदस्य आनन्द थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष ढोलनाथ दाहालले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाको बन्दपत्रले खुल्ला सत्रमा प्रस्तुत गरेका तीन प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कालिका नगरपालिकाका सबै वडाहरु कार्यक्षेत्र रहेको सो सहकारी २०७१ साल फाल्गुन २९ गते स्थापना भएको थियो ।

https://ujyaalonepalnews.com/archives/32386

Previous articleथारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै
Next articleघटस्थापना : साइत र विधि जान्नुहोस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।