विद्युत महसुल नतिर्ने ‘टप टेन’ ग्राहकको लाइन काटियो

0
36

चितवनमा दुई महिना भन्दा बढी समयदेखि विद्युत् महसुल नतिरेका ग्राहकहरुको लाइन काट्न थालिएको छ।नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आइतबार देखि दुई महिनाभन्दा बढी समयदेखि विद्युत् महसुल तिर्न बाँकी बक्यौता रहेका ग्राहकको लाइन अभियान नै सञ्चालन गरेरै काट्न थालेको हो।

अभियान अन्तर्गत आइतबार बिहान लामो समयदेखि विद्युत् महसुल नतिरेका ‘टप टेन’ भित्रकाका ग्राहकको लाइन काटिएको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

‘आइतबार बिहानै विद्युत् महसुल नतिर्ने ‘टप टेन’ भित्रका ग्राहको लाइन काटियो, हाम्रो टोली अझै लाइन काट्ने अभियानमै छ,’ इन्जिनियर पौडेलले भने, ‘समयमा विद्युत् महसुल नतिर्ने सबै ग्राहकको लाइन काटिन्छ।’ लाइन काटिनेमा सबैभन्दा धेरै उद्योग रहेका छन्।

इको पोलोमर उद्योग, अनमोल फिड्स, शक्ति प्लाष्टिक, दलिमा केटार, लेक ट्वान्टी फार्म एण्ड रिसोर्ट, इनर्जि फुड, फोर सिर्जन रेष्टुरेण्ड, लाइम एण्ड लेमन क्याफे, न्यौपाने डोरी एण्ड प्लाष्टिक उद्योग र डिल्लीराज विष्टको लाइन काटिएको छ।

भरतपुर वितरण केन्द्रमा सबैभन्दा धेरै इको पोलोमरले नौ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ। उसले चार महिना देखि बिद्युत् महसुल तिरेको थिएन। अनमोल फिड्सले छ महिनादेखिको आठ लाख ३० हजार रुपैयाँ तिर्न बाँकी छ। शक्ति प्लाष्टिक उद्योगले सात महिनाको छ लाख १३ हजार, दलिमा केटारले छ महिनाको चार लाख ७९ हजार, लेक ट्वान्टी फार्मर एण्ड रिसोर्टले चार महिनाको चार लाख ५२ हजार रुपैयाँ तिर्न बाँकी छ।

यस्तै इनर्जि फुडले १२ महिनाको चार लाख २२ हजार, फोर सिर्जन रेष्टुरेण्डले पाँच महिनाको तीन लाख ७९ हजार, लाइम एण्ड लेमन क्याफेले चार महिनाको तीन लाख ५८ हजार रुपैयाँ तिरेका छैनन्।

न्यौपाने डोरी एण्ड प्लाष्टिक उद्योगले तीन लाख ५७ हजार र डिल्लीराज विष्टले १२ महिनाको तीन लाख १८ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ। यो रकममा जरिवाना नजोडिएको इन्जिनियर पौडेलले जानकारी दिए। उनीहरुलाई २५ प्रतिशत जरिवाना लाग्ने उनले बताए।

विद्युत् लाइन छ महिना बढी समयदेखि काटिएको र बक्यौता भुक्तानी भएको छैन भने त्यस्ता ग्राहकलाई कालोसूचीमा राख्ने तयारी भएको छ। हालसम्म केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। जसबाट ७३ लाख तीन हजार रुपैयाँ रकम उठ्न बाँकी छ।

भरतपुर वितरण केन्द्रले साढे ४३ करोड रुपैयाँ बढी विद्युत् महसुलको बक्यौता उठाउन बाँकी छ। सडक बत्ती, कालोसूचीमा परेका, सरकारले उद्योगलाई दिएको छुट, उद्योग, पार्टी कार्यालय लगायतबाट ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी रहेको हो।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार ६० दिनभन्दा बढी समयको ३५ करोड ४१ लाख ५३ हजार १६५ रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ। केन्द्रले दुई वर्षभन्दा माथिको १० करोड ५६ लाख ४४ हजार रुपैयाँ बक्यौता रकम उठाउन बाँकी देखिन्छ।

दुई महिनादेखि छ महिनासम्मको चार करोड ९८ लाख २० हजार, छ महिनादेखि १२ महिनासम्मको दुई करोड आठ लाख २८ हजार, १२ महिनादेखि २४ महिनासम्मको तीन करोड २९ लाख ५८ हजार रुपैयाँ उठ्न बाँकी रहेको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ।

विद्युत् महसुल नियमित नतिर्नेमा स्वयम नेपाल सरकार, राजनीतिक दल र ठुल्ठुला उद्योग रहेका छन्। सरकारले तिर्ने गरी उद्योगहरुलाई दिएको विद्युत् महसुलको छुट अहिलेसम्म सरकारले तिरेको छैन।

दुई वर्षभन्दा बढीको १३ करोड ८७ लाख १६ हजार रुपैयाँ प्राधिकरणलाई सरकारले दिन बाँकी रहेको प्राधिकरणका इन्जिनियर रुद्रराज विष्टले जानकारी दिए।

‘कोरोनाको बेला सिँचाइ, होटेल लगायतको उद्योगहरुमा सरकारले दुई महिनाको महसुल छुट दिने भनेको थियो। हामीले उनीहरुलाई छुट दियौँ,’ उनले भने ‘सरकारले अझै पनि प्राधिकरणलाई विद्युत् महसुल तिरेको छैन।’

भरतपुर महानगरपालिकाले पनि सडक बत्तिको रकम नियमित तिरेको छैन। सडक बत्तिको मात्रै १२ करोड छ हजार रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख रुपैयाँ उठ्न बाँकी छ। घरायसी बिजुलीको आठ करोड ६८ लाख १९ हजार, संस्थागत ७७ लाख १५ हजार, व्यवसायी तीन करोड ११ लाख आठ हजार, सामाजिक संस्थाहरूको एक करोड १५ लाख दश हजार बक्यौता रहेको छ।

मनोरञ्जन क्षेत्रकाले पाँच लाख ६९ हजार छ सय ६७, औद्योगिक क्षेत्रको दुई करोड ९२ लाख ४१ हजार, खानेपानीको तीन लाख ४० हजार, अस्थायी, यातायात क्षेत्रको २० लाख, धार्मिक सङ्घ संस्था र सामाजिक सघ संस्थालगायतले तिर्न बाँकी रहेको उनले जानकारी दिए।

कालो सूचिमा परेका ग्राहकहरु सरकारी स्तरबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन सक्ने पौडेलले बताए। बक्यौता रकम अविलम्ब भुक्तानी गर्न प्राधिकरणले अनुरोध समेत गरेको छ। लाइन काटिएका ग्राहकहरुलाई विद्युत् दिएको पाइएमा दिएका व्यक्तिको समेत लाइन काटिने प्राधिकरणले चेतावनी दिएको छ।

https://www.ujyaalonepalnews.com/archives/32649

Previous articleउपप्रधान तथा रक्षामन्त्री खड्का र राष्ट्रसङ्घ महासचिव गुटेरेसबीच भेटवार्ता
Next articleगुटेरेस माला र टोपीमा सजिँदा…