युएनआई नेपालको महिला समितिमा खड्का र युवा समितिमा रोकाया निर्वाचित

काठमाडौँ- ट्रेड युनियनको अन्तराष्ट्रिय संस्था युएनआई नेपाल अन्तर्गतको महिला र युवा समितिमा नयाँ नेतृत्व चयन भएको छ ।

युएनआई महिला समितिमा भगवती खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

यसैगरी, युएनआईको युवा समितिमा विरजित रोकायाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

काठमाडौँमा भएको महिला र युवा समितिको अधिवेशनले नयाँ कार्य समितिहरु चयन गरेको हो ।

यी दुबै अधिवेशनको संयुक्त उद्घाटन सत्रमा बोल्नुहुँदै युएनआईका एशिया प्रशान्त क्षेत्रीय महासचिव राजेन्द्र आचार्यले संसारभर कामको प्रकृतिमा आएको परिवर्तनलाई नेपाली महिला श्रमिक र युवा श्रमिकले राम्रोसँग अध्ययन गर्न जरुरी भएको बताउनुभयो ।

उहाँले श्रम अधिकारको रक्षा गर्न नयाँ प्रविधिसँग जुध्न सक्ने र सामुहिक सौदावाजीको नयाँ तरीका अपनाउन सक्ने श्रमिक नेताको आवश्यकता भएको पनि उल्लेख गर्नुभयो।

विश्वभर काम गर्नेहरुको काम खोसिँदै गएको अवस्थामा नेपालका श्रम संगठनहरु पनि चनाखो हुनुपर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले सामुहिकतामा बल हुन्छ भन्ने कुरा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

उहाँले राजनीतिक विचारले श्रम संगठनहरु विभाजित हुँदा अधिकारको बारेमा वोल्ने आवाज कमजोर भएको उल्लेख गर्नुभयो ।।

 

https://ujyaalonepalnews.com/archives/32866

Previous articleनेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता
Next articleजाजरकोटमा भुकम्प, आठविसकोटमा मात्र १८ जनाको मृत्यु, १५० बढी घाइते, थप विवरण आउन बाँकी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।