अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौं- अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको मद्दतले अफगानिस्तानविरुद्ध तीन विकेटको जित निकाल्दै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो ।

मुम्बइको वानखडे स्टेडियममा जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो । म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नुअघि अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय अवस्थामा थियो ।

विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेल्दै म्याक्सवेलले कुल १ सय २८ बलको सामना गर्दै २१ चौका र १० छक्का प्रहार गरेका थिए ।

उनले कमिन्ससँग मिलेर आठौँ विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए । यससँगै अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ । अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम भएको छ ।

यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अस्ट्रेलियाको आठ खेलबाट १२ अंक भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।

त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए ।

विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो ।

जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरे ।

अब चौथो स्थानका लागि न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ । पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

https://ujyaalonepalnews.com/archives/33022

Previous articleआठविसकोटका लागि विभिन्न सङ्घसंस्थाबाट राहत सामग्री सहयोग हुने क्रम जारी
Next articleपोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रकम ठगी गर्ने महिला पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।