नेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

“हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

“टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालिसकेको छ, सम्भवतः आजैदेखि बन्द हुन्छ ।”

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिकटक’मा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको छ ।

https://ujyaalonepalnews.com/archives/33125

Previous articleध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन
Next articleसांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।