पाञ्चायन डेरीमा गोदामघर शिलान्यास

0
65

उज्यालो नेपाल। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पाञ्चायन दुग्ध उत्पादक सहकारी संस्थामा गोदामघर शिलान्यास गरिएको छ।

पशुपालक कृषकहरुलाई आवश्यक चोकर, ढुटो लगायतका वस्तु भण्डारण गरी विक्री वितरण गर्न तथा संस्था आफैंले उत्पादन गरेको दाना भण्डारणको लागी गोदामघर निर्माण गर्न लागिएको हो।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय बाट सहकारीको लागी विनियोजित १५ लाख बजेट बाट गोदामघर निर्माण हुनेछ।

गोदामघरको शुक्रबार वडाध्यक्ष आशिक तामाङले एक कार्यक्रमका बीच शिलान्यास गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले ‘दूध जोन’ को रुपमा विकास हुँदै गईरहेको वडा नं. १५ का दुग्ध उत्पादक सहकारीहरुलाई आवश्यक भौतिक पूर्वाधारको लागी वडा कार्यालयले लगानी र समन्वय गरिरहेको बताए। कच्चा दूध मात्र बिक्री गर्दा बिक्री वितरणमा समस्या आईरहेकाले दुग्ध विविधीकरणको लागी पनि प्रदेश सरकारको कृषि मन्त्रालयमा प्रस्ताव पेस गरिएको उनले जानकारी दिए।

त्यस्तै सहकारीका अध्यक्ष सन्दीप रेग्मीले विनियोजित बजेटको सही सदुपयोग गरी भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। अर्को प्रसंगमा अध्यक्ष रेग्मीले दूधको विक्रीवितरणमा आएको समस्याको कारण किसानलाई समयमा भुक्तानी दिन नसकेकोमा दुःख व्यक्त गरे। ठूला डेरी उद्योगहरुले महिनौं सम्म भुक्तानी नगरी आलटाल गर्ने गरेकाले समस्या उत्पन्न भएको उनले जानकारी दिए।

सहकारीका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू लीलादेवि पोखरेल र ईमप्रसाद पन्त, वडा सचिव सूर्य ढुंगाना, संस्थाका निवर्तमान अध्यक्ष हरिश्चन्द्र अधिकारी, पाञ्चायन मन्दिर अध्यक्ष मदन भुजेल, शिवालय मन्दिर अध्यक्ष ठाकुर खनाल लगायत सरोकार वालाहरुको उपस्थिति रहेको थियो।

वि.स २०५४ सालमा स्थापना भएको सहकारीमा हाल ३०० कृषकले दैनिक २२ सय लिटर दूध विक्रीवितरण गर्दै आईरहेका छन्। विक्री गरिएको दूध बाट मासिक ४० लाख बढी रकम भित्रिँदै आएको छ।

कार्यक्रम संस्थाका सचिव नवराज घिमिरेले सञ्चालन गरेका थिए।

Previous articleबाग्लुङमा दुर्गा प्रसाईंलाई हातपात गर्न खोजेको आरोपमा एक पक्राउ
Next articleचितवनमा केराघारी भित्र पुरुषको शव फेला