पिठुवा खानेपानीको साधारण सभा: खानेपानीको स्रोत संरक्षणमा जोड 

Click Image

रत्ननगर । रत्ननगरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा एक करोड ८८ लाख १८ हजार रुपैया आम्दानी गरेको छ ।

शनिबार आयोजना गरिएको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा एक करोड ८८ लाख १८ हजार रुपैया आम्दानी भएको जनाइएको छ ।

एक करोड ८८ लाख १८ हजार आम्दानी गरेको सो संस्थाले १ करोड ३४ लाख ५८ हजार खर्च कटाएर ५३ लाख ५९ हजार रुपैया मुनाफा भएको जनाएको छ ।

सो संस्थाले आर्थिक बर्ष २०७९÷८० मा पानी विक्रीबाट मात्र एक करोड २४ लाख ९१ हजार आम्दानी गर्न सफल भएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष आशिक तामाङले अनुमानित आयव्याय, नीति तथा कार्यक्रम,संस्थाका सचिव बासुदेव लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णु भण्डारी कट्टेलले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थागत विकासमा योगदान गर्ने स्वर्गीय सुर्यनाथ न्यौपानेलाई मरणोप्रान्त, उत्कृष्ट कर्मचारीको रुपमा केदारनाथ तिवारी र परिसद् सदस्यको निर्वाचनमा निर्वाचन अधिकृतको रुपमा काम गरेका केशव शर्मा, जयन्ती रानाभाट र सुर्यप्रसाद ढुंगानालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानीको पूर्वाधार निर्माणसंगै पानीको स्रोत संरक्षणमा समेत ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादबप्रसाद पाठकले भविश्यमा खानेपानीको अभाव जस्तो विकराल अबस्था आउने भन्दै खानेपानीको स्रोत संरक्षणलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद हरि ढकालले खानेपानीको स्रोत संरक्षण र पूर्वाधार निर्माणमा लगानी गर्ने प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष तामाङले आफ्नो कार्यकालमा पूर्वाधार निर्माण, स्रोत संरक्षण र उपभोक्ताको संख्या बृद्धि गर्ने काम गरेको बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष जयन्द्रकुमार श्रेष्ठ, वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, नेपाली कांग्रेसका नगर उपसभापति कमलनाथ अधिकारी, एमालेका नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल, माओवादी केन्द्रका नगर इन्चार्ज राजु अम्गाई, रास्वपाका नगर सचिव रामशरण भट्टराई, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, एकीकृत समाजबादीका नगर अध्यक्ष हरिकुमार श्रेष्ठ, समाजसेवी उत्तम आचार्य, प्रकास खनाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष मुक्तिप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए । २०६७ सालमा स्थापना भएको सो संस्थाको ४ हजार ५२२ जना उपभोक्ता रहेका छन् ।

तेस्रो अधिवेशनले आगामी कार्यकालको नेतृत्व समेत चयन गर्नेछ । रत्ननगर नगरपालिका वडा नं १४, १५ र १६ का स्थानीयलाई खानेपानी उपलब्ध गराउदै आएको सो संस्थाको नेतृत्व चयनका लागि तीन वटा वडाबाट २२३ जना परिषद् सदस्य निर्वाचित भइसकेका छन् ।

नेतृत्व चयनमा सहमती हुन नसके निर्वाचन प्रक्रियाबाट कार्यसमिति, लेखा समिति र सल्लहाकार समिति चयन हुनेछ ।

साधारण सभाको बन्दसत्रले दीपक सिवाकोटीको संयोजकत्वमा निर्वाचन समिति घोषणा गरी प्रक्रिया अगाडि बढाएको छ ।

Previous articleयू-१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर-६ मा
Next articleबकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शव वाहन सेवा सुचारु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।