Home चितवन सेरोफेरो पिठुवामा खानेपानी तथा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम

पिठुवामा खानेपानी तथा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम

उज्यालो नेपाल। रत्ननगरको वडा नं. १६ मा खानेपानी तथा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा वडा भित्र रहेका ११ वटा टोल विकास संस्थाका प्रतिनिधि र सरोकारवालाहरु गरि झन्डै ८० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले, पछिल्ला दिनहरुमा गरिएको धारा अनुगमनको क्रममा ३० प्रतिशत भन्दा बढी उपभोक्ताहरुले खानेपानीको धाराको सरसफाईमा ध्यान नदिएको पाईएको जानकारी दिए।

खानेपानीको मिटर र धारा वरपर फोहोर पानी जमेका कारण महामारी फैलनसक्ने अवस्था देखिएकाले सचेतना  कार्यक्रम गरिएको उनले  बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले उपभोक्ता सचेत नभए सम्म संस्थाको एकल प्रयासले मात्र धारा सरसफाई र खानेपानीमा स्वच्छता कायम गर्न कठिन हुने धारणा व्यक्त गरे ।

कार्यक्रमका सहभागीहरुलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुर्व ईन्जिनियर तथा चितवन जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र अभियानका संयोजक शिवराज न्यौपाने र स्वास्थ्यका लागि पानी र सरसफाई विज्ञ निशा प्रजाले सहजीकरण गरेका थिए ।

संस्थाका सचिव रुपेश तिवारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तुलबहादुर रायमाझीले सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाले आफ्नो सेवाक्षेत्र रत्ननगर १४,१५ र १६ का सबै टोलविकास संस्थाका प्रतिनिधिहरुलाई सचेतना प्रदान गर्ने कार्यक्रम अनुसार मंगलबार वडा नं. १६ मा कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार बुधबार वडा नं. १४ र  विहिवार वडा नं. १५ मा कार्यक्रम आयोजना गरिने छ ।

Previous articleभरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदै
Next articleबुद्ध एयरको एकाधिकार तोड्दै भरतपुरबाट उडान सुरु गर्ने श्री एयरलाइन्सको तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।