गैँडाकोट- नारायणी नदीकिनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को तयारी सकिएको छ । आज कात्तिक २६ देखि नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा महोत्सव हुँदैछ ।
महोत्सव मूल समिति संयोजक एवम् आयोजक संस्थाका अध्यक्ष अमृत भट्टचनले महोत्सवको तयारी आइतबार साँझसम्म ९९ प्रतिशत पूरा भएको बताए । महोत्सवको आन्तरिक सुरक्षाका लागि निजी कम्पनीका सुरक्षाकर्मी परिचालन गरिनुका साथै सिसी क्यामेराबाट निगरानी भइरहेको छ ।
यसपटकको महोत्सवमा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ यसले दर्शकहरुलाई नौलो स्वाद पस्किने छ । आज उद्घाटन हुने महोत्सवको शोभायात्रामा तीन सय भन्दा बढी संघसंस्थाहरुबाट पाँच हजार भन्दा बढी मानिसको सहभागिता रहने छ ।
गैँडाकोट नगरपालिकाबाट सुरु हुने शोभायात्रा नगरको विभिन्न भाग हुँदै महोत्सव स्थल नारायणी नदी किनारमा पुगेर सकिने छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसो महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।
महोत्सवमा थारु, तामाङ, गुरुङ, चेपाङ र मगरको संस्कृतिबारे जानकारी दिन उनीहरुको छुट्टाछुट्टै सांस्कृतिक घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत सामग्री राखिएको छ । तीन सय स्टल रहने महोत्सवमा कृषि उत्पादनका लागि ५० वटा स्टल निःशुल्क प्रवद्र्धन गरिएको छ ।
महोत्सवको व्यवस्थापन राजधानी एम्युजमेन्ट राइट्स नेपालले गरेको छ । व्यवस्थापन संस्थाले महोत्सव परिसरभित्र दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइ भएको टनेल निर्माण गरी विभिन्न प्रकारका माछा राखेर हेर्ने व्यवस्था गर्न लागिएको व्यवस्थापक अभय चौधरीले बताए ।
“यो टनेल हेर्नका लागि नेपालबाट बर्सेनि धेरै मान्छेहरु दुबई जाने गरेका छन्” चौधरीले भने, “दुबईमा देख्न पाइने टनेलको माछा अब गैँडकोटमा सञ्चालन हुने महोत्सवमा देख्न पाइन्छ, यो नेपालमै पहिलो र एकमात्रै प्रविधि हो ।” टनेलभित्र पानीमा राखिने माछाको लम्बाइ ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरु चीनबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताए ।
टनेलभित्र एकैपटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न डोम निर्माण भइरहेको छ । “अहिले धमाधम टनेल निर्माणको गर्ने काम भइरहेको छ ।” दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहने छ ।
महोत्सवमार्फत नवलपुरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै सम्भावनाको खोजी गरिने, नवलपुरको त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथ मन्दिरसम्मको धार्मिक पर्यटकीय करिडोरको प्रचारप्रसार गर्ने, त्रिवेणी–कोरला राजमार्गको दिगो सञ्चालन, दुवै ठाउँमा अन्तर्राष्ट्रियस्तरको भन्सार कार्यालय स्थापनाका लागि सरोकारवालाई ध्यानाकर्षण गराउनु मेलाको प्रमुख उद्देश्य रहेको छ। मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा रु एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको छ ।
एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने छ ।




