रत्ननगर १६ मा ज्येष्ठ नागरिक लक्षित मिर्गौला परीक्षण अभियान सुरू

Click Image

रत्ननगर । रत्ननगरको वडा नं. १६ मा ज्येष्ठनागरिक लक्षित मिर्गौलासम्बन्धी रक्त परीक्षण अभियान सुरू भएको छ । वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको संयुक्त आयोजनामा हात्तिगाड़े टोलबाट मंगलबार अभियान सुरु गरिएको हो ।

अभियान अन्तर्गत सो टोलबाट ६४ जनाको रक्तपरीक्षण गरिएको छ । संकलित रक्त नमुनाबाट मिर्गौला रोगको सुरूवाती अवस्था पत्ता लगाउन क्रिटिनाइन, युरिया र युरिक एसिडको परीक्षण हुने पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले बताए । यो किसिमको परिक्षण रत्ननगरमै पहिलो भएको उनले दाबि गरे ।

अभियानको मंगलबार एक औपचारिक कार्यक्रम बीच उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, नगरप्रवक्ता कुलप्रसाद सापकोटा, ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

वडाध्यक्ष हेमराज थापाको सभापतित्वमा भएको कार्यक्रम, वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्ष ८१ वर्षीय प्रेमप्रसाद पन्तको मिर्गौलासम्बन्धी रक्त परीक्षण गरी सुरूवात गरिएको थियो ।  सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै थापाले वडा स्वस्थ भए नगर स्वस्थ हुने र नगर स्वस्थ भए राष्ट्र नै स्वस्थ हुने भएकाले वडावासीलाई स्वस्थ राख्न विभिन्न स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिँदै आएको बताए ।

वडा सदस्य रिता विकले स्वागत मन्तव्य राखेको कार्यक्रम पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले संचालन गरेका थिए । वडाका दसवटै टोलमा सञ्चालन गरिने अभियानबाट आठसय बढी नागरिकको मिर्गौला परीक्षण गरिने छ । मंगलबारदेखि सुरू भएको अभियान मङ्सिर ३० गतेसम्म सञ्चालन हुनेछ ।

Previous articleरत्ननगरमा सांस्कृतिक तथा व्यापार महोत्सव : बद्री पंगेनीकाे राताे पछ्याैरीमा झुमे दर्शक
Next articleमाधवपुरको सक्षम आमा समुहलाई वाधवादन सामग्री वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।