
उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले सुर्यविनायक-जडिवुटी सडक खण्डमा चल्ने सवारी साधनको लागि लेन व्यवस्थापन गरिएको छ।

सो सडक खण्डमा फागुन १४ गतेदेखि यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था लागू गरिएकाे ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभाबकारी बनाउन प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सूर्यबिनायक जडीबुटी सडक खण्डको अनुगमन गरि तत्काल उक्त सडक खण्डको ट्राफिक व्यबस्थापनमा सुधार गर्न यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने सवारी साधन बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधनहरु दाहिने लेनबाट गुड्दा ट्राफिक व्यबस्थापन र दुर्घटना न्यूनिकरणमा उल्लेख्य सुधार हुन सक्ने भनि सुझाव पेश गरेको थियो।
समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक विभाग, यातायातसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानीय नागरिकहरुबीच समन्वय एव सहकार्य गरी लेन र जेव्राक्रसिङ मार्किङ्ग, फुटपाथ तथा आकाशेपुलको उचित प्रयोग, ट्राफिक लाईट सञ्चालन, बस विसौनी तथा यात्रु प्रतिक्षालयको प्रयोग, प्रविधिहरूको प्रयोगवाट ट्राफिक नियम पालना जस्ता ट्राफिक व्यबस्थापनका बिषयमा छलफल गरि तोकिएको लेनको प्रयोगलाई कार्यान्वयन गरिने महाशाखाको भनाई छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढ्ने हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अबस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए।
सो सडक खण्डलाई व्यबस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुँदा यसको प्रभावकारी कार्यान्वयनमा सघाउका लागी सम्बन्धित सरोकारवाला संघ संस्था, नागरिक समाजबाट प्रतिनिधीत्व हुने गरि पूर्व प्रहरी निरीक्षक सिताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक विभाग भक्तपुरको प्रतिनिधी रहेको ६ सदस्यीय अनुगमन समिति गठन गरिएको छ।


