प्रि-मनसुनी गतिविधि सुरु, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

हिउँदयाम अर्थात् ‘विन्टर’(अंग्रेजीमा) सकिन केही दिन बाँकी हुँदा देशमा अर्काे मौसम अर्थात् प्रि-मनसुनका गतिविधि सुरु भइसकेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार नेपालमा हावाहुरी, चट्याङसहितको वर्षा सुरु भएको हो।

‘नेपालको मौसममा प्रिमनसुनका लक्षण देखिन थालिसकेका छन्,’ महाशाखाका मौसमविद् राजु प्रधानांगले सोमबार बिहान नेपालखबरसँग भने, ‘आज पनि देशका पहाडी भेगमा हावाहुरी, चट्याङ्सहित वर्षाको सम्भावना छ।’

उनका अनुसार सामान्य हुरीबतास र क्षणिक वर्षा हुने देखिन्छ।

‘अपराह्नपछि वा साँझतिर देशका पहाडी भेगका केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना देखिएको छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजेको बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै यसो भनेको छ:

देशका मध्य तथा पूर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

फेब्रुअरी सकिएर मार्च सुरु भएपछि औपचारिक रूपमा प्रिमनसुन सुरु हुन्छ। तर त्यसका गतिविधि भने केही दिन पहिले नै देखिने मौसमविद् बताउँछन्।

मार्च, अप्रिल र मे तीन महिना प्रिमनसुनको अवधि हो। त्यसपछि मनसुन अर्थात् वर्षायाम सुरु हुनेछ।

मौसमविद् प्रधानांगका अनुसार यतिबेला भने देशभर मौसम सामान्यतया सफा नै छ। तर अपराह्नपछि भने मौसम बदली भई पहाडी भेगमा वर्षा हुने सम्भावना छ।

काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि वा साँझतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने मौसम आंशिक (कहिले बादल, कहिले घाम) हुने सम्भावना छ।

आज बिहान पौने ६ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ। पुनः पौन ९ बजे मापन गरिनेछ।

काठमाडौंमा आज अधिकतम तापक्रम २४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् प्रधानांगले जानकारी दिए। 

अफवाह नफैलाउने हो भने ६ महिना औषधिको अभाव हुँदैन : शिव बाँस्कोटा, अध्यक्ष, औषधि थोक व्यवसायी संघ

Previous article१ अर्बको कारोबार गर्दै विराट एक्स्पाे २०७६ सम्पन्न, ३ लाख बढीले गरे अवलोकन
Next articleउपत्यकामा आज बिहान भएका सवारी दुर्घटनामा तीनको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।