नैतिकता र राजीनामाको भेट

0
53

आजभन्दा दई वर्षअघि ३ फागुनका दिन प्रधानमन्त्री नियुक्त भएका दिनदेखि नै विकास र समृद्धिका लागि प्रतिबद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका दुई वर्षमा धेरै उकाली ओराली पार गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा अघि सार्दै उनले यसका लागि सुशासनमा समेत जोड दिने कुरा गरेका थिए । तर, समूह कार्यको ऐक्यबद्धता र समन्वयका अभावमा कसैको पनि लक्ष्य पूरा हुन सक्दैन भन्ने कुरा यसबीचमा घटेका कतिपय घटनाले पुष्टि गराउँछ । यी घटनाहरू प्रधानमन्त्रीका लागि क्रमशः बाधक बनेर आएको देखिन्छ । उनको प्रतिबद्धतामा अवरोध सिर्जना गराएको पाइन्छ । यो राष्ट्रकै लागि लज्जाको विषय हो ।

केही उदाहरण : विकसित देशहरूमा प्रत्येक कामको जिम्मेवारी तत् क्षेत्रका विभागीय मन्त्रीले लिन्छन् । यसैकारण संसारका कतिपय देशमा पुल भत्कँदा त्यहाँका सडकमन्त्रीले र रेल दुर्घटना हुँदा यातायातमन्त्रीले राजीनामा दिएर नैतिकताको परिचय दिएका घटना बेला बेलामा समाचार बनेर आएका हुन्छन् । यो अरू देशको कुरा भयो । हाम्रो देशमा नैतिकता र राजीनामाको जम्काभेट प्रायः हुँदैहुँदैन । भइहालेछ भने पनि पनि एकदमै कम हुन्छ । जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएपछि तातेको विद्यार्थी आन्दोलनमा तत्कालीन शिक्षामन्त्री पशुपतिशमशेर राणाले राजीनामा दिएका थिए । दशरथ रंगशाला काण्डमा केशरबहादुर विष्टको राजीनामा उतिबेला प्रशंसाको शिखरमा थियो । राजाकै करकापले नै सही, सिंहदरबार जल्दा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टको राजीनामा पनि इतिहासकारले बेलाबेलामा सम्झने गर्छन् । यसो त पहिलो संविधानसभा चुनावमा आफ्नो पार्टीले कम सिट ल्याएको र आफूसमेत निर्वाचनमा पराजित भएकोमा तत्कालीन एमाले नेता माधव नेपालले राजीनामा गरेर जिम्मेवारी स्विकारेका थिए । सायद उनको त्यो उच्च नैतिकताकै कारण होला दुई÷दुई ठाउँबाट पराजित भएर पनि राजनीतिक दलले उनैलाई मनोनित गरी प्रधानमन्त्रीसमेत बनाएको इतिहास हामीसँग साक्षी छ । २०७४ को आमचुनावमा नेकाले देशभरि नै कम सिट ल्याएकोमा पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिन निकै दबाब आएको थियो ।

हामीकहाँ सामाजिक सञ्जालको गलत प्रयोग र गलत मनोविज्ञानका कारण कसैमाथि आरोप लाग्दा उसको खेदो खनिहाल्ने र सफाइ पाउ“दा माला लिएर गलाभरि भिराइदिने चलन छ

तर, उनले राजीनामा दिएनन् । ‘चुनावमा हार्ने तिमीहरू राजीनामा दिने मैले ? किन दिने ? दिन्न’ भने भनेको खबर उतिबेला छापामा निकै जोडतोडका साथ आएको थियो । केही वर्षअघि कृषिमन्त्री हरिप्रसाद पराजुलीले रोपाइ काण्ड लागेर राजीनामा दिएका थिए । दुई वर्षअघि कानुनमन्त्री शेरबहादुर तामाङले प्राक्सिस इन्टरनेसनल एकेडेमी विद्यालयको कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीलाई बिदाइ गर्ने कार्यक्रममा बंगलादेशमा पढ्न गएका विद्यार्थीका बारेमा बोलेको कुरा निकै आलोच्य बन्यो । सामाजिक सञ्जालले उनको खेदो नै खन्यो । कुरो साँचो थियो वा झुटो कसैले मतलवब गरेनन् । मन्त्रीले महिलाउपर धावा बोले सर्वत्र यही सन्देश फैलियो । उनले २०७४ साउन ६ गते प्रेस वक्तव्यमार्फत क्षमा याचना पनि गरे । तर, विरोध सेलाएन । उनले अन्ततः धुरुधुरु रुँदै पत्रकार सम्मेलन गरी राजीनामा नै दिन पुगे ।

महरा अन्यायमा (?) : न्यायशास्त्रमा आरोप र फैसला दुवै अलगअलग विधा हुन् । आरोप लाग्दैमा कसैलाई पनि शतप्रतिशत दोषी हो भन्न सकिँदैन । तर, हामीकहाँ सामाजिक सञ्जालको गलत प्रयोग र गलत मनोविज्ञानका कारण कसैमाथि आरोप लाग्नासाथ उसको खेदो खनिहाल्ने र सफाइ पाउँनासाथ माला लिएर गलाभरि भिराइदिने चलन छ । यी दुुवै अतिवादी प्रवृत्ति हुन् । गत असोजमा तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि रोशनी शाही बलात्कारको आरोप लाग्यो । जसलाई बलात्कार गरियो भनियो उनैले बलात्कार भएकै होइन, बरु म आफैं डिप्रेसनको बिरामी भएकाले होसमा नहुँदा लगाएको आरोपमा सत्यता छैन भनेर पटकपटक भनिन् ।

यति हुँदा पनि उनलाई सभामुखबाट राजीनामा दिन बाध्य पारियो । अन्ततः अदालतबाट उनले सफाइ पाए । बितेका चार महिनायता उनले पाएको सामाजिक अपमान, कष्ट र दुःखको क्षतिपूर्ति अब कसले दिने हो ? जुन आरोपमा उनको सभामुख पद गयो, त्यो आरोप नै गलत साबित भएर मुद्दा जितेपछि गुमेको सभामुख पदको क्षतिपूर्ति कसले कसरी दिने हो ? गम्भीर प्रश्न खडा हुन्छ । महरा यद्यपि नेकपाका अध्यक्ष प्रचण्डका प्रिय पात्र थिए भनिन्छ । आरोप आउनेबित्तिकै उनले अनुसन्धानका लागि सहज होस् भनी राजीनामा दिए । तर, आज आरोप मिथ्या र आरोपकै कारण दिएको राजीनामा साँचो भएको छ । नैतिकतासँग उनको राजीनामाको भेट हुनुको परिणाम हो यो ।

चर्चामा गोकुल : यतिबेला निवर्तमान भइसकेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सर्वाधिक चर्चामा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राजनीतिक तुलोमा जोख्ने हो भने गोकुल बाँस्कोटा एकातिर र अरू सबै अर्कोतिर हुन्छन्’ भनेको ३६ घण्टा बित्न नपाउँदै सुरक्षित छापाखानासम्बन्धी कारोबारमा ७० देखि ७५ करोड कमिसनको अडियो टेप बाहिरिएका कारण विवादित बने । सञ्चारमन्त्री बाँस्कोटा विवादित मात्र बनेनन्, ‘सरकारको विरोध गर्नेसमेत गोकुुलतिर फर्केपछि ठीक हुन्छन्’ भन्ने प्रधानमन्त्रीको दृढ विश्वासलाई क्षणभरमा तुहाइदिए ।

अहिले उनै गोकुलका कारण यतिबेला सुशासनका लागि लडेका प्रधानमन्त्री सकसमा हुनुपर्छ । ‘सुशासनका लागि लड्छु,, भ्रष्टाचारीको अनुहार हेर्दिनँ, नजिक, टाढाको पनि भन्दिनँ’ भन्ने प्रधानमन्त्रीलाई सबैभन्दा बढी विश्वास गरेको पात्रबाटै ७० करोडको कमिसनको अडियो बाहिरिएर पदबाट राजीनामा दिनुपर्ने अवस्था आउनु पक्कै पनि शुुभ संकेत होइन । यद्यपि, यस विषयमा छानबिन होला । अडियोमा सुनिएको बोली उनको होला, नहोला ? उनी साँच्चै दोषी करार होलान्, नहोलान् त्यो अनुसन्धानले बताउने कुरा हो । यस विषयमा अख्तियार प्रवेश गरिसकेको हुँदा बढी बोल्न जरुरी देखिँदैन । सत्य, तथ्य छिटैबाहिर आओस् भन्ने कामनासम्म गर्न सकिन्छ । तर, ‘म पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ’ भन्ने वाचा गरेका प्रधानमन्त्रीका लागि भने यो घटनाले दाँतमा ढुंगो लागेको हुनुपर्छ । जसलाई सबैभन्दा बढी विश्वास गरेर प्रधानमन्त्रीले सरकारको प्रवक्तासमेत तोके, उनैका बारेमा बाहिर आएका यी हल्लाबाट अबका दिनमा प्रधानमन्त्रीले पाठ सिक्नैपर्छ ।

भोलि कानुनी उपचारले गर्ने फैसला एउटा होला तर आज आमजनताको नजरले हेर्ने दृष्टिकोणप्रति पनि प्रधानमन्त्री सचेत हुनैपर्छ । दुुई तिहाइको शक्तिशाली सरकार भइकन पनि यस्तै प्रवृत्ति रहने हो भने अब जनताले आशा गर्ने ठाउँ रहँदैन । तसर्थ, अब प्रधानमन्त्री सचेत हुनैपर्छ । आफ्नो टिममा कसलाई कुन हैसियतमा राख्ने हो भन्ने कुरामा सचेत हुन सकिएन भने त्यसबाट देखापर्ने परिणाम टिम लिडरले भोग्नुुपर्ने हुन्छ । दाइँमा नारेका गोरुमध्ये एउटा गोरु मात्र छेरुवा प¥यो भने पनि सबै पराल बिगार्छ भन्ने उखान यस्तैयस्तै क्रियाकलापबाट चरितार्थ हुने हो । छ बेला, लाग्ला घाम, धैर्य भएर टिमलिडरले सोच्नैपर्ने हुन्छ ।

The post नैतिकता र राजीनामाको भेट appeared first on Rajdhani Daily News.

कांग्रेसको निर्वाचन प्रचार समिति ६७ सदस्यीय

Previous articleकम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थाले
Next articleसरकारले विकासको गतिलाई तीव्र बनाएको छ : गृहमन्त्री थापा