
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग रु ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइन्जिनियर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ।
कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइन्जिनियर रौनियारलाई पक्राउ गरेको हो। आयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायत र सोही कार्यालयका खरिदार रहेका शिवाराज उपाध्यायविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्वविपरीत उनीहरुले रु दुई करोड ९४ लाख ८९ हजार ९७१ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ। आयोगले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए।रासस
साविक विजेता लिभरपुल च्याम्पियन्स लिगकाे प्रि-क्वाटरफाइनलबाटै बाहिरियाे


