संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति

0
36

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले शनिबार संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदल गठन गरी गोप्य राखे पनि संयोजक माधवकुमार नेपालले दुई सदस्यलाई बोलाएर बैठक गरेका छन् । कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा नेपालको कोटेश्वरस्थित घरमा सोमबार बिहान छलफल गर्न पुगेका थिए ।

सत्तारूढ नेकपाका संसदीय दलका उपनेता नेम्वाङले संविधान संशोधन व्यक्तिगत विषय नभएको बताएका छन् । उनले सोमबार कार्यदलको बैठक नभई अनौपचारिक छलफल भएकाले आफू त्यसमा सहभागी भएको बताए । आफूले पार्टीका वरिष्ठ नेता नेपालसँग संविधान संशोधनको विषयमा पार्टीले निर्णय गरेको विश्वास नलागेको बताएको उनको भनाइ छ ।

‘संविधान संशोधन जिम्मेवारीपूर्वक हुनुपर्छ । आवश्यकता र औचित्यका आधारमा हुनुपर्छ, व्यक्तिगत कुरा होइन,’ उनले भने, ‘समाजवादी पार्टी र राजपाले हामीसँग कुरा गर्दा हामीले आवश्यकता र औचित्य स्थापित भएको ठानिएन ।’

आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्ने मत आफूले राखेको नेम्वाङले बताए । ‘संविधान संशोधनतर्फ अगाडि बढ्ने भनेको पारदर्शी ढंगले देश र जनताले थाहा पाउने गरी हो,’ नेम्वाङले भने, ‘तर अहिले जुन ढंगले कुरा आएको छ, त्यस्तो काम पार्टीबाट भयो भन्ने मलाई लाग्दैन । यो प्रक्रिया होइन होला । यस्तो प्रक्रिया कँही कतै सोचाइ पनि छ भने सच्याइहालौं भनेर नेताहरूलाई भनिदिनुहोला भनेको छु ।’

उनले कार्यदलको बैठक नबसेको दोहो¥याए । आफू कार्यदलको बैठक नभई सामान्य छलफल गर्ने सहमतिमा नै उपस्थित भएको उनले प्रस्ट्याए । ‘आज (सोमबार बिहान माधव कमरेडले मलाई फोन गरेर भेटौं भन्नुभयो । मैले हुन्छ, म आउछु भनें,’ उनले भने, ‘तर मैले बाहिर पत्रपत्रिकामा चर्चा भएजस्तो संविधान संशोधनका लागि कार्यदल बनेको कुरा हो भने मेरो सहमति छैन भनें । यदि त्यो कार्यदल हो भने कमरेडले पनि बस्नुहुँदैन, बस्नुहुन्न होला भन्ने मेरो विश्वास छ भनें ।’

संविधान संशोधनबारे नेता नेम्वाङले देश र जनताको हितमा आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन हुन सक्ने बताए । उनले समाजवादी पार्टी, राजपा, महिला, दलित, जनजाति सबैसँग छलफल गरेर संविधान संशोधनको विषय अगाडि बढाउन सकिने तर्क गरे । उनले कुनै व्यक्ति विशेषको लहडमा संविधान संशोधनजस्तो गम्भीर विषय ल्याउन नहुने सुझाव आफूले दिएको बताए ।

उनले पार्टीले संविधान संशोधनका लागि कार्यदल नै नबनाएको प्रतिक्रियासमेत दिए । उनले यस्तो गम्भीर विषयमा नेता नेपालले पनि हल्का रूपमा नलिने बताए । नेम्वाङ पुग्नुअघि नै कोटेश्वर पुगेका देवकोटाले पनि सुवास नेम्वाङको धारणामा सहमति जनाएका थिए । दुवै नेताको कुरा सुनेपछि नेता नेपालले आएको विषयलाई पार्टीमा प्रस्तुत गर्ने जनाएको नेम्वाङले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको गृहकार्य सुरु भएपछि त्यसको व्यापक आलोचना भएको थियो । पार्टीभित्रै र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि नेकपाको संविधान संशोधन गर्ने तयारीबारे प्रश्न उठाएका थिए । सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि कार्यदलको आलोचना
भएको थियो ।

नेता देवकोटाले राष्ट्रपतीय प्रणालीमा जाने गरी संविधान संशोधन गर्नुपर्ने विषय आफूले सुझाएको प्रतिक्रिया दिए । राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको गृहकार्य गर्ने विषयमा आफ्नो असहमति रहेको उनले बताए । अध्यक्ष पुष्पकमल दाहालले शनिबार सचिवालय बैठकमा संविधान संशोधन गृहकार्य गर्ने गरी प्रस्ताव लगेका थिए । सो प्रस्तावमा अर्का अध्यक्ष केपी शर्मा ओली ‘मौन’ बसेका थिए ।

The post संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति appeared first on Rajdhani Daily News.

सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै खाद्य कम्पनी

Previous articleसरस्वती र कुललाई अवार्ड
Next articleदेशभर आंशिकदेखि पूर्ण बदली, हावाहुरी र चट्याङसहित पानी पर्ने