
नागरिकता कानुनको विषयलाई लिएर सोमबार हिंस्रक प्रदर्शन हुँदा मंगलबारसम्म मृतकको संख्या ९ पुगेको छ।
मृत्यु हुनेमध्ये एक प्रहरी पनि रहेका छन्। सोमबार ५ जनाको मृत्यु भएको थियो। मंगलबार मृतकको संख्या ४ ले बढेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार भारतको अहमदाबाद पुगेका थिए। उनी अहमदाबाद, आग्रा हुँदै सोमबार नै दिल्ली पुगेका थिए।
ट्रम्प दिल्ली पुग्न अगाडि त्यहाँ महिनौंयता जारी नागरिकता कानुनको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो। केही समय साम्य भएको प्रदर्शन आइतबारदेखि चर्किएको हो।
प्रदर्शनकारीले सरकारविरुद्ध प्रदर्शन गर्दै ढुंगामुढा प्रहार गरेका थिए, कारमा आगजनी गरेका थिए। प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो।
बीबीसीका अनुसार उक्त हिंसामा ४८ प्रहरी घाइते भएका छन् भने ९० जना सर्वसाधारण घाइते भएका छन्।
मुस्लिम समुदायले सोमबार सरकारविरुद्ध प्रदर्शन गरिरहँदा उक्त समुदायका एक युवाले गोली चलाएका थिए।

ती युवाको पहिचान भएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनको नाम शाहरुख भएको बताइएको छ।
मुस्लिम समुदायका युवा शाहरुखले गोली चलाएको घटना संचारमाध्यममा फैलिएसँगै सोमबार राति दिल्लीको कविर नगरमा रहेका मुस्लिमको घरमा पेट्रोल बम तथा ढुंगाहरु प्रहार भएको थियो।
हिन्दु समुदायको भीडले मुसलमानमाथि आक्रमण गरेको साथै भीडले पत्रकारहरुलाई फोटो तथा भिडियो डिलेट गर्न चेतावनी दिएको बताइएको छ।
दिल्लीमा भइरहेको हिंसा रोक्न मंगलबार गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच भेटवार्ता भएको थियो। उक्त वार्तामा प्रहरी अधिकारीसमेत सहभागी भएको जनाइएको छ।

मंगलबार पनि प्रदर्शन जारी रहेको खबर सार्वजनिक भएका छन्। केही समय अगाडि नागरिकता कानुनको विरुद्धमा प्रदर्शनमा उत्रिएका एक युवाले मुस्लिम समुदायको भीडमा गोली चलाउँदा एक व्यक्ति घाइते भएका थिए।
भारत सरकारले नागरिकता सम्बन्धी नयाँ कानुन ल्याएपछि केही समययता भारतमा प्रदर्शन जारी छ।
उक्त कानुन मुसलमान विरोध भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैर मुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानुनले बताएपछि हिंसा जारी छ।
यसअघि भाजपाका नेताहरुले नागरिकता कानुनको विरोध गर्ने मुस्लिमहरुलाई प्रहरीले सडकबाट नहटाए आफूले हटाउने चेतावनी दिँदै आएका थिए।

यी हुन कोरोना बाट बिदेशमा ज्यान गुमाउने ८ नेपाली(बिबरण सहित)


