तीन नेता एकै ठाउँमाः पार्टी फुट्न नदिने उद्घोष

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै पार्टीलाई एकजुट राख्ने उद्घोष गरेका छन् ।

नेकपाको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गर्दै पार्टीलाई एकजुट राख्न कुनै कसर बाँकी नराख्ने बताए । अर्का अध्यक्ष दाहालले सानातिना विवादले पार्टी एकतामा कुनै समस्या नपार्ने बताए । उनले विवाद हुँदै जाने र त्यसको समयमै व्यवस्थापन गरी पार्टीलाई झनै ऊर्जावान् र शक्तिशाली बनाइने बताए ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने र एकजुट बनाएर लैजाने प्रतिबद्धता जनाए । उनीहरू पार्टीमा देखिएको समस्या समाधान गर्दै एकजुट बनाउनुपर्नेमा सहमत देखिए ।

नेकपाको बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई सिफारिस गरे पनि प्रधानमन्त्री ओलीले पार्टी निर्णय आफूले अस्वीकार गर्ने संकेत गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो । अर्का अध्यक्ष दाहालले भने पार्टीभित्र आउने यस्ता विषयलाई ठूलो विषय बनाउन नहुने तर्क गर्दै केही असमझदारी भएमा छलफलको माध्यमबाट अघि बढ्न सकिने धारणा राखे । दुवै अध्यक्षले पार्टी सचिवालय बैठकको निर्णयअनुसार नै आ–आफ्नो मोर्चा सम्हालिरहेका छन् । प्रधानमन्त्रीले पार्टीको निर्णय अस्वीकार गर्न नहुने तर्क नेताहरूले गर्दै आएका छन् ।

बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले सरकार जनताको आवश्यकता पूरा गर्नेतर्फ सरकार सधैं तल्लीन रहेको बताए । उनले भने, ‘गाउँमा बिजुली गयो, बाटो शिलान्यास भयो, बैंक शाखा लिएर गए, मान्छेहरू खुसियालीमा रमाए । यता पत्रकारहरू धुरुधुरु रुन थालेछन् । मेरो गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा त रुवावासी चलेछ ।’ उनले पुस्तौंदेखि खानेपानीको समस्या झेलेर बसेका जनताबारे कहिल्यै समाचार नबनेको धारणा राखे ।

‘त्यहाँ हामीले घरघरमा खानेपानीका धारा लग्यौं, त्यो समाचार बनेन, तर घरघरमा पानीको धारा झरेको खुसियालीमा दिदी–बहिनीहरू नाचे, पत्रकारलाई चिन्ता त्यसमा भयो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसा बाँस्कोटाको बचाउ गरे । उनले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन, प्रश्न उठेकाले राजीनामा दिएको बताए । ‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ । केही प्रमाण छैन,’ ओलीले भने, ‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ । उक्त अडिओ मेरो होइन भन्नुभएको छ । सत्यता पुष्टि भएको छैन । स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।’

प्रधानमन्त्री ओलीले कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको तर त्यो उजुरी पत्रु भएको बताए । ‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ,’ उनले भने, ‘त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो ।’ प्रधानमन्त्री ओलीले आन्दोलन बदनाम गर्न षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘हाम्रा नेताको नाम जोडेर २० करोड माग्यो भनियो । सत्य हो भने कारबाही हुन्छ, झुट भए प्रतिवाद हुन्छ ।’ उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न जर्मन र फ्रान्स सरकारसँग सिधा कुरा भइरहेकाले कसरी स्विस एजेन्टको कुरा आयो भन्ने प्रश्न गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महŒवका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभत्र्सना नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले संसारले नेपाल तीव्र आर्थिक विकास गर्ने दस वटा देशमध्ये परेको भन्दै प्रशंसा गरेका बेला देशभित्रै भने आत्मभत्र्सनाको प्रयास भएको बताए । ‘सरकारले दूरगामी महŒवका धेरै काम गरेको छ । मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ । रेल सञ्चालनको तयारी भएको छ । सडक कालोपत्रे गर्ने र पुल निर्माण गर्ने काम इतिहासमै तीव्र गतिमा भइरहेका छन्,’ उनले भने, ‘संसारका तीव्र आर्थिक वृद्धि गर्ने १० वटा देशमा नेपाल परेको भन्दै प्रशंसा भइरहेको छ । तर, यहाँ आफ्नैभित्र चाहिँ केही हुन सकेन भन्दै आत्मभत्र्सना गर्ने प्रवृत्ति बढेको छ ।’

यस्तै, अर्का अध्यक्ष दाहालले पार्टीमा विवाद हुनु र भुमरी चल्नु सामान्य प्रक्रिया भएको भन्दै पार्टीभित्रको विवादको बचाउ गरेका छन् । उनले विवाद नभएको दिन पार्टी नै नरहने तर्क गरे । ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो । नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो । हामीलाई पनि त्यस्तै लाग्छ,’ उनले भने, ‘हामी एकताबद्ध हुन कोसिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ, त्यो दिनबाट पार्टी चाहिन्न ।’ उनले साम्यवाद नआएसम्म पार्टीमा भुमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए । उनले भने, ‘विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न ।’

बुधबार मात्रै दाहालको प्रस्तावमा सचिवालयले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली झनै रुष्ट बने । उनले अर्का नेता माधवकुमार नेपालसँग सचिवालयको उक्त निर्णय नमान्ने बताइसकेका छन् । राष्ट्रिय सभामा गौतम जान्छन् कि ओलीको चाहनाअनुसार अहिलेका अर्थमन्त्री युवराज खतिवडा नै रहन्छन् भन्ने टुंगो नभइसकेका बेला दुवै अध्यक्ष एउटै मञ्चमा देखिए । उनले पार्टी विभाजन हुन नदिने पनि बताए । ‘पार्टी जमेको पोखरी जस्तो होइन । यो गडगडाएर जान्छ । पार्टीभित्र के हो भनेर धेरैलाई परेको छ,’ उनले भने, ‘यो धेरै ठूलो मूल्य चुकाएर, पसिना चुहाएर आएको नेतृत्व छ । त्यसैले विवाद भए पनि विभाजन र विघटन हुन दिन्नौ ।’

यसअघि सोही कार्यक्रममा नेकपा सचिवालय सदस्य माधव नेपालले पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताएका थिए । उनले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दाबी गरे । ‘तपार्इंहरू यहाँ आउदा धेरै आशंका लिएर आउनुभएको छ । पत्रपत्रिकाको समाचारले दिमाग खराब भएको होला,’ नेपालले भने ‘यहाँबाट जाँदा ऊर्जा लिएर जानुहुनेछ ।’ पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने समेत उनले बताए ।

The post तीन नेता एकै ठाउँमाः पार्टी फुट्न नदिने उद्घोष appeared first on Rajdhani Daily News.

मापसे गरेर झगडा गर्ने कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

Previous articleसम्बन्धित नियकाले ध्यान नदिएपछि स्थानीय आफैँले सडकका खाल्टा पुरे
Next article४१ अर्बको छैन लेखाजोखा, पूर्वाधार विकासमा कर वृद्धि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।