फेरि नेपाल पस्यो पश्चिमी वायु

0
63

नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेको हो।

बिहीबार दिउँसो नै नेपालको पश्चिमी क्षेत्रमा प्रवेश गरेको उक्त प्रणालीले आज (शुक्रबार) विशेष गरी पश्चिमी क्षेत्रको मौसम बदली गराएको छ।

‘पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले पश्चिमी क्षेत्रसहित देशका पहाडी भेगको मौसम बदली गराएको छ,’ मौसमविद् बासीले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘आजलाई यो प्रणालीले पश्चिमकै एक/दुई स्थानमा मेघगर्जनसहित वर्षा गराउने देखिन्छ।’

यसबाहेक देशका अन्य तराई क्षेत्रमा भने आज मौसम सामान्यतया सफा रहने संकेत देखिएको उनले बताइन्।

‘भोलि (शनिबार) भने यो अलि सशक्त हुने देखिन्छ,’ मौसमविद् बासीले भनिन्, ‘भोलि पश्चिमी क्षेत्रका थोरै स्थानमा वर्षा तथा देशका उच्च पहाडी एवं हिमाली भेगमा हिमपात हुने सम्भावना छ।’

यसपटकको हिउँदमा औसतभन्दा धेरैपटक नेपालमा पश्चिमी वायु प्रवेश गरेको महाशाखाका मौसमविद् बताउँछन्।

पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणालीले यसपटक औसतभन्दा बढी हिउँदे वर्षा गराएको उनीहरूको भनाइ छ।

मौसमविद्का अनुसार अब विन्टर अर्थात् हिउँदयाम औपचारिक रूपमा अन्त्य हुँदै छ।

यो अंग्रेजी महिना फेब्रुअरी समाप्त भएपछि मार्चदेखि प्रिमनसुन सुरु हुनेछ। तर मार्च लाग्नुभन्दा केही दिन अघिदेखि नै प्रिमनसुनी गतिविधि सुरु भएको मौसमविद् बताउँछन्।

मार्च, अप्रिल र मे महिनासम्म प्रिमनसुन रहनेछ। यस अवधिमा हावाहुरी, चट्याङ पर्ने तथा क्षणिक वर्षा हुने हुन्छ।

यस्ता गतिविधि केही दिनदेखि सुरु भइसकेको छ।

प्रिमनसुन भनेको हिउँदयाम सकिएर मनसुन अर्थात् वर्षायाम आउनुअघिको अवधि हो।

काठमाडौंमा आज दिनभर घाम लाग्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आजलाई काठमाडौं उपत्यकाको मौसममा भने नपर्ने देखिएको छ।

उपत्यकामा आज दिनभर घाम लाग्ने देखिएको मौसमविद् बासीले जानकारी दिइन्।

बिहान पौने ६ बजेको मापनअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेको पनि उनले जानकारी दिइन्।

आज यहाँको अधिकतम तापक्रम २१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।

सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा

Previous articleकोरोनाबाट बँच्न जापानमा चैतसम्म देशभर स्कूल बन्द
Next articleमृगौला फेर्न लागेका ओलीले राज्यकोषबाट लिए १७ करोड उपचार खर्च!