तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

0
54

हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।

साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ ।

अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष छ महिना कैद सजायसहित रु ४० हजार जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।
विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा तेजाब प्रहार गरेका थिए ।

प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए । वीरगञ्ज हुँदै भारत भागेका उनीलाई छ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो । आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहेकी छन् ।

The post तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद appeared first on Rajdhani Daily News.

अर्थतन्त्रको जग उठाउन उत्पादनमा जोड दिनुपर्छ : पर्यटनमन्त्री किराँती

Previous articleप्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्नुहुन्छ : प्रचण्ड
Next articleअडियो टेप सार्वजनिक गर्ने बिरुद्ध गोकुल बास्कोटाद्धारा मुद्दा दर्ता