प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्नुहुन्छ : प्रचण्ड

Click Image

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए ।

पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।’ प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो– ‘म अहिले त्यतातिर जानै चाहान्न । मलाई विश्वास छ उहाँले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन । कसैले पनि सक्दैनन् ।’

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय भएको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको भन्दै उनले छ महिनाका लागि राष्ट्रियसभामा नगएर डा युवराज खतिवडा अर्थमन्त्री हुनसक्ने बताए।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको सर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित हल्ला मात्र भएको उनले बताए । दाहालले भने, ‘त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।’ प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको भन्दै उनले मैले ल्याएर केके गरे भन्ने तपाईहरुलाई थाहा नै छ नी भने । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया भएको उनले टिप्पणी गरे ।

The post प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्नुहुन्छ : प्रचण्ड appeared first on Rajdhani Daily News.

सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न

Previous articleफेरि नेपाल पस्यो पश्चिमी वायु
Next articleतेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।