पर्वत, १८ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान संशोधन तत्कालका लागि आवश्यक नरहेको बताएका छन् ।
पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको पूर्णेश्वर माविको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै तिमिल्सिनाले यस्तो बताएका हुन् ।
संविधान आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने भएपनि तत्काललाई संशोधन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
नेकपाभित्र राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने बारेमा संविधान संशोधनको चर्चा चलेको बताउँदै तिमिल्सिनाले एकजना व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने जिकिर गरे ।
सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा रिक्त स्थानमा मनोनयन गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएपछि विवाद हुँदै आएको छ ।
अध्यक्ष तिमिल्सिनाले अहिले बहुमतको सरकार परिर्वतन गर्नेसम्मका हल्ला चलेकोप्रति आक्रोश पोख्दै नेपालमा जहिले पनि बहुमतका सरकारलाई काम गर्न नदिने र अस्थिरता मच्चाउने काम भएकोमा दुःख व्यक्त गरे ।
दलहरूभित्रको झगडा र आशंकाले देश समृद्धितर्फ नजाने बताउँदै अध्यक्ष तिमिल्सिनाले यसले देशमा अझै ठूलो दुर्घटना हुन सक्ने चेतावनीसमेत दिए ।
विकास निर्माणका हरेक काममा राजनीतिक दलहरुले हातेमालो गर्न सके देश विकासको दिशामा धेरै अगाडि बढ्ने भएकाले उनले स्थानीय दलहरूलाई विकासमा भाँजो नहाल्न आग्रह गरे ।
The post संविधान संशोधन तत्काल आवश्यक छैन : तिमिल्सिना appeared first on Koshi Online.


