खरिपाटी क्वारेन्टाइनका १७५ जना आज घर फर्काइँदै

चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना कोरोनो भाइरस (कोभिड–१९) परीक्षणको दोस्रो स्वास्थ्य रिपोर्ट सोमबार दिउँसो सार्वजनिक हुने भएको छ।

चीनको वुहानबाट ल्याइएका उनीहरुलाई १४ दिनसम्म कोरोनाको लक्षण देखिनसक्ने भन्दै क्वारेन्टाइनमा राखिएको थियो।

दुई हप्ताअघि ल्याइएकै दिन गरिएको पहिलो स्वास्थ्य परीक्षणमा कसैलाई पनि कोरोना संक्रमण देखिएको थिएन। १४ दिन बसेपछि शनिबार गरिएको अर्को परीक्षणको रिपोर्ट आज दिउँसोसम्म सार्वजनिक हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

‘जनस्वास्थ्य प्रयोगशालाले सोमबार दिउँसोसम्म रिपोर्ट तयार भइसक्ने जानकारी दिएको छ,’ प्रवक्ता देवकोटाले भने, ‘त्यो आएलगत्तै आजै सार्वजनिक गर्ने हामीले छलफल गरिरहेका छौं।’

क्वारेन्टाइनमा रहेकामध्ये कसैमा पनि संक्रमण नदेखिए उनीहरुलाई आजै घर फर्काइने उनले बताए। यदि कसैमा संक्रमण देखिएयो भने उसलाई आइसोलियसनमा राखेर उपचार गर्ने र उसको नजिकको सम्पर्कमा रहेकालाई थप १४ दिन क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले पनि संक्रमितलाई अस्पतालको आइसोलियसन राखेर उपचार गरिने र एउटै कोठामा रहेका तथा नजिकको सम्पर्कमा आएका व्यक्तिलाई थप १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताए।

‘संक्रमण देखिएमा आइसोलियसनमा राखेर उपचार गर्ने र नजिकको सम्पर्कमा रहेका, एउटै कोठामा बस्ने अन्यलाई हाछ्यु गर्दा, खोक्दा भाइरस सर्ने जोखिम रहन्छ’, प्रवक्ता डा. बास्तोलाले भने, ‘उनीहरुलाई थप १४ दिन क्वारेन्टाइनमा राख्नुपर्नेहुन्छ।’

क्वारेन्टाइनको एउटा कोठामा तीन जनासम्म राखिएको छ।

प्रयोग गरिएका सामग्री नष्ट गरिने
क्वारेन्टाइनमा रहेका हरुले प्रयोग गरेका सामग्रीहरु नष्ट गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘क्वारेन्टाइनको जिम्मेवारी लिइरहेको नेपाली सेनासँग मिलेर त्यहाँ भएका सबै सामग्रीहरु नष्ट गर्छौ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘त्यही गर्ने कि कुन ठाउमा गर्ने अहिले निश्चित भएको छैन।’

टेकु अस्पतालका डा. बास्तोलाले भने संक्रमण नदेखिए सामान्य मान्छेले प्रयोग गर्ने सामग्री सरह र संक्रमण देखिएमा विशेष तरिकाले प्रयोग भएका सामग्रीहरु नष्ट गर्नुपर्ने सुझाब दिए। 

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

Previous articleफोटोसप गरिएको तस्बिरमा इभान्का ट्रम्पको प्रतिक्रिया यस्तो…
Next articleबार्सालाई पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।