नेपालमा कोरोना भाइरसको खतरा कति ? यी हुन् जान्नैपर्ने तथ्यहरू !

काठमाडौं – विश्वभर त्रासको रुपमा लिँदै गइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा महामारीको रुपमा भित्रिन नदिन सरकारले सक्रियता देखाएको छ ।

विश्वभर ६४ भन्दा बढी मुलुकमा भेटिएको कोरोनाबाच बच्न सरकारले सक्रियता देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेपछि सर्वसाधारणमा त्रास फैलिएको छ ।

नेपालमा कोरोना भाइरसको खतरा कति छ त ? चीनबाट सुरू भएको कोरोना विश्वका विभिन्न कुनामा पुगेर मान्छेको मृत्यु भइसक्दा समेत नेपालमा असर देखिएको छैन । चीनमा रहेका नेपालीलाई उद्धार गरेर ल्याएपछि ती नेपालीमा कोरोना संक्रमण नभएको पुष्टि भइसकेको छ । हालसम्म नेपाल कोरोनाबाट बचेको छ ।

विश्वमा कोरोना फैलिएको तुलना हेर्दा नेपाल हालसम्म सुरक्षित नै देखिएको छ । सरकारले भने कोरोनाबाट बच्न सावधानी अपनाइसकेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आईतबार पत्रकार सम्मेलन गर्दै कोरोनाको संक्रमण रोक्न सरकारले रणनीति बनाएको जनाएका छन् । पहिलो चरणमा संक्रमण देशभित्र भित्रिन नदिने, दोस्रो चरणमा कोरोना भित्रिए त्यसलाई निर्मूल पार्न सम्पूर्ण जनशक्ति लगाइने र यदि संक्रमण फैलिइहालेमा स्वास्थ्य संकटकाल घोषणा गरेर नेपालका सबै अस्पताललाई उपचारका लागि प्रयोग गरिने जनाइएको छ ।

आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति समेत गठन गरिएको छ । कोरोना संक्रमण बढ्नसक्ने खतरा देखेर सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि विदेशमा गरिने प्रचारप्रसार स्थगित गर्ने निर्णय गरेको छ भने बहुप्रचारित अन्तर्राष्ट्रिय फोरम ‘सगरमाथा संवाद’ स्थगित गर्ने निर्णय गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गर्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको देशमा राखेपछि सतर्क भएको जनाएका छन् । ‘हामीले सबै नेपालीलाई ट्राभल एड्भाईजरी जारी गरेका छौं । १० मार्चदेखि नेपाल आउने पर्यटकले आफूलाई कोरोना नलागेको सर्टिफिकेट पेश गर्नुपर्नेछ,’ उनले भने ।

कोरोना संक्रमित ठाउँबाट आउनेहरूले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको सरकारले जनाएको छ । सरकारले मास्क, सेनेटरीको बजार अनुगमन गर्ने र उत्पादन गर्ने उद्योगलाई उत्पादन बढाउन आग्रह गर्ने निर्णय समेत गरेको छ ।

अदालतदेखि संसदसम्म सक्रिय

सोमबार नै सर्वोच्च अदालतले कोरोनाको संक्रमण रोक्न संक्रमित क्षेत्रबाट नेपाल आउने जहाज अवतरणमा रोक लगाउन आदेश समेत दिएको छ । अदालतले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान लगायत देशबाट नेपाल आउने जहाज अवतरणमा रोक लगाउन समेत आदेश दिएको छ ।

सरकार र अदालतले सक्रियतापूर्वक काम गरिरहेको र निर्देशन दिएको बेला व्यवस्थापिका संसदमा समेत कोरोनाको कुरा उठेको छ । एक हिसाबले सबै निकाय कोरोनाबाट बच्न सक्रिय भएका छन् । नेपालमा कोरोना नभित्रिँदै जुन किसिमको सक्रियता देखिएको छ, त्यसले नेपाललाई कोरोनाबाट बच्न सहयोग पुग्ने देखिएको छ ।

संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले कोरोना प्रभावित क्षेत्रबाट नेपाली र विदेशी बेरोकतोक नेपाल भित्रिरहेपनि उनीहरूलाई क्वारेन्टाइन र आइसोलेसनमा नराखिनु गलत भएको बताएका छन् ।

‘नेपाल पनि जोखिमपूर्ण छ भन्ने विश्व स्वास्थ्य संगठनको चेतावनी र यथार्थप्रति सरकार कति सचेत छ ? आश्वस्त हुने गरी संसद्मा जानकारी गराउन आवश्यक छ,’ बडूले भनेका छन् ।

विश्वभर कोरोनाको कहर !

विश्वभर कोरोना संक्रमणबाट आईतबारसम्म २ हजार ९९० जनाको मृत्यु भएको सार्वजनिक भएको छ । संक्रमणबाट ८७ हजार ५६५ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६४६ जनामा संक्रमण देखिएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नआत्तिन डाक्टरको सुझाव !

कोरोनाको संक्रमण र खतरा त्रास फैलिएजति नरहेको डाक्टरहरूले सुझाव दिने गरेका छन् । पूर्व सावधानी अपनाए कोरोनाबाट बच्न सकिने डाक्टरको सुझाव छ । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना प्रचार गरिएजस्तो खतरनाक नरहेको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा डा. पाण्डेले केही सुझाव राखेका छन् –

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरू मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।

– कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घरोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।

– कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।

– कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने,मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने ।

– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।

– कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २–३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै– सिटामोल, रुघाखोकीको औषधि ।

– शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम विकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

– विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।

– बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पञ्जा महत्त्वपूर्ण छ ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास,साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।

– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।

– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी सुरु भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।

– कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।

– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।

– यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ ।

न्युज २४ छोडेपछि के गर्दैछन रवि? ज्वा’लाले खोलिन रविको भित्रि योजना

Previous articleपछिल्लो दुई महिनामा आए साढे १५ हजार चिनियाँ
Next articleकोरोना संक्रमण रोक्न सरकारले जारी गर्‍याे बाह्र बुँदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।