उज्यालोदर्पण- साबिक पदमपुरको जेठो विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय पिपरियाले स्थापना भएको ६७ वर्ष पछी वार्षिकोत्सव मनाएको छ । वि.स २०१४ सालमा राप्तीपारी पदमपुरमा स्थापना गरिएको विद्यालयले मंगलबार विविध कार्यक्रम गरेर आफ्नो ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
पदमपुर स्थानान्तरण पछी हाल कालिकाको वडा नं. २ मा अवस्थित सो विद्यालयले हालसम्म औपचारिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको ईतिहास नरहेको विद्यालयका प्रधानाध्यापक वाशुदेव आचार्यले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा आयोजित औपचारिक कार्यक्रममा प्रधानाध्यापक आचार्यले विद्यालयको सिकाइ उपलब्धि र आयव्यय प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्रअ आचार्यले नौ बुँदे सिकाइ उपलब्धि सुधार योजना सार्वजनिक समेत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्षहरु छ जना, पुर्वशिक्षकहरु १३ र चन्दादाता ४४ जनालाई सम्मान गरिएको छ । त्यसैगरी, विद्यालयका उत्कृष्ट कर्मचारी सिर्जनाकुमारी चौधरीलाई पनि सममनित गरिएको छ ।
कार्यक्रमका प्रमुखअतिथि कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सामुदायिक विद्यालय प्रति अभिभावकको चासो र आकर्षण बढाउन कालिकाका सबै सामुदायिक विद्यालयमा वार्षिकोत्सव र अभिभावक दिवस मनाउने अभियान सुरु गरिएको बताउनुभयो । अबका केहि दिनमा कालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा यस्ता कार्यक्रम सम्पन्न हुने र कालिका नगरपालिका नेपालमै सबै सामुदायिक विद्यालयको वार्षिकोत्सव र अभिभावक दिवश मनाउने पहिलो पालिका हुने मेयर रेग्मीले दाबि गर्नुभयो ।
यस्तै विशिष्ट अतिथि वडाध्यक्ष लक्ष्मण पौडेलले आधारभूत विद्यालय पिपराले शैक्षिक गुणस्तरमा फड्को मार्दै गएको भन्दै आफ्ना नानिबाबुहरुलाई निर्धक्क विद्यालयमा भर्ना गर्न जनसमुदायलाई आग्रह गर्नुभयो । विद्यालयको भौतिक र शैक्षिक विकासको लागी कुनै कुराको कमि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले सिंगो कालिका नगरपालिका विद्यालयको साथमा रहेको बताउनु भयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विरेन्द्र तामाङ, वडा नं. ४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ४ का संस्थापक वडाध्यक्ष कृष्णकुमार श्रेष्ठ, शिक्षाप्रेमी व्यक्तित्व कमल आचार्य, चन्दादाताहरु जयलाल कंडेल, कृष्णप्रसाद आचार्य, आत्माराम बास्तोला, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बास्तोला, आधारभूत विद्यालय वनकट्टाका प्रधानाध्यापक भक्त तामाङ लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रलाल बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक माण्डवी चौतरियाले स्वागत् मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम शिक्षकद्वय खगेश्वर आचार्य र गीता शर्माले संचालन गर्नुभएको थियो ।
बालविकास कक्षा देखि कक्षा ५ सम्म अध्यापन हुने सो विद्यालयमा झन्डै १६० विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा स्थापना समयदेखि हालसम्म विद्यालयमा योगदान दिनुहुने लेखक तथा व्यवसायी जीवा लामिछाने, उँहाका स्वर्गीय पिता खेमलाल लामिछाने, भवन निर्माण समितिका अध्यक्ष गणेश प्रसाद आचार्य, चन्दादाताहरु मिनराज आचार्य, शिवनारायण चौतरिया लगायतको योगदानको चर्चा गरिएको थियो ।

