रत्ननगर । गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई सोमबार नगद सहित खाद्यान्न सहयोग गरिएको छ । रत्ननगर वडा नं १४ पिठुवामा रहेको एसवाई प्यानल लिमिटेडले सामाजिक उत्तरदायित्व बहन गर्दै नगद एक लाख सहित ५ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो।
केन्द्रमा आईतवार एक औपचारिक कार्यक्रमको आयोजना गरि कम्पनीका निर्देशक ली ह्वाङछुन, निर्दैशकहरु अनिल सापकोटा र अबिरल जिम्बाले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई एक लाख रकमको चेक र खाद्यान्न हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष शर्माले केन्द्र स्थापनाको इतिहास देखि हालसम्म एसवाई प्यालनबाट भएको सहयोग सबैभन्दा ठुलो सहयोग भएको बताए । उनले कम्पनीले प्रदान गरेको एक लाख रुपैया चेपाङ बालबालिकाको शिक्षामा लगानी गर्ने बताए ।
सो अवसरमा कम्पनीका निर्देशक जिम्बाले कम्पनीले मासिक रुपमा यस्ता सहयोगको कार्यक्रमहरु गर्दै आईरहेको भएतापनि अहिले चेपाङ संरक्षण केन्द्रलाई गरिएको सहयोगले आफुहरुको आत्मसन्तुष्ट भएको बताए । यो सहयोगले लक्षित वर्गमा सहयोग पुगेको अनुभुती आफुले गरेको उनले सुनाए ।

यस्तै अतिथि तथा केन्द्रकि सल्लाहकार संगीता भट्टराईले चेपाङ बालबालिकाको चुलो बाल्न मद्दत गरेकोमा कम्पनी प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताइन् ।
कार्यक्रममा कम्पनीका म्यानेजरहरु मनिष बानिया, मार्केटिङ म्यानेजर योगेश श्रेष्ठ, संजित थापामगर, सुवास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सन २०१७ सालमा स्थापना भएको सो कम्पनीले १० प्रकारका प्यानल सहित झ्याल ढोका उत्पादन गर्दै आएको छ । सो कम्पनीका उत्पादन भएका सामग्रीहरु भारत त भूटानमा समेत निर्यात गरिदै आएको छ ।




