सामाजिक सञ्जालमार्फत घृणास्पद अभिव्यक्ति दिएको आरोपमा रवि चुँडाल पक्राउ

काठमाडाैँ । सामाजिक सञ्जालमार्फत झापावासीलाई लक्षित गरी घृणास्पद र आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा रवि चुँडाल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार काठमाडौँको सुकेधाराबाट नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले चुँडाललाई पक्राउ गरिएको पुष्टि गरे । झापाको चुनावी नतिजा सार्वजनिक भएपछि एउटा भिडिओ सार्वजनिक गर्दै चुँडालले झापाका बासिन्दालाई ‘चोर’, ‘अपराधी’, ‘दुष्ट’, ‘देश बेच्ने’ जस्ता अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेका थिए ।

उनको उक्त घृणास्पद अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध हुनुका साथै सर्वसाधारणले कानुनी कारबाहीका लागि प्रहरीलाई अनुरोध गरेका थिए ।

चुँडालविरुद्ध यसअघि पनि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको अर्को एक विषयलाई लिएर सुनसरी जिल्लाबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । यसैक्रममा झापावासीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको अर्को घटना बाहिरिएपछि उनलाई समातिएको एसएसपी खड्काले जानकारी दिए ।

यसअघि पनि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा-५ मा चुनाव जिते आफूले ‘दिसा खाने’ जस्ता आपत्तिजनक टिप्पणी उनले गरेका थिए । पक्राउ परेका चुँडालमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) को कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleमादक पदार्थ सेवनपछि विवाद हुँदा खैरहनीमा एकजना माथि चक्कु प्रहार
Next articleयस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।