प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटर लगियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसनका लागि भर्खरै अपरेसन थिएटरमा लगिएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि उनलाई अपरेसन थिएटर लगिएको हो । मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौला आज बिहान ९ बजे प्रत्यारोपण हुने भनिए पनि केही ढिला भएको हो । मंगलबार उनको प्रि–ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ । उनले भने, ‘प्रत्यारोपणको शल्यक्रिया ३–४ घण्टामा सकिन्छ । प्रत्यारोपण सफल भएमा ५–६ दिनमा डिस्चार्ज गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीलाई अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआईपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ । अस्पतालमा भीभीआईपीका लागि ६०१ र ६०२ गरी दुई वटा क्याबिन बनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छिन् । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका छन् । टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. सुवास आचार्य रहेका छन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

अन्य कुनै समस्या आएमा तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा रहेका छन् ।

The post प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटर लगियो appeared first on Rajdhani Daily News.

उडान बन्द भएपछी हजारौ कामदार समस्यामा; स्वदेश फर्कन नेपाली दूतावासहरुमा दबाब

Previous articleएमसीसी जति ठूलो सहयोग अहिलेसम्म आएका छैन, यसमा विरोध गर्नु हुँदैन : सभापति देउवा
Next articleप्रधानमन्त्री ओलीको शरीरमा अब चार ओटा मिर्गाैला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।