
अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पु¥याउने गरी योजना बनाउन निर्देशन दिएका छन्।
मन्त्री डा. खतिवडाले आज सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रीय कार्यालयको निरिक्षणका क्रममा रेडियो नेपालको आधुनिकीकरणको प्रयास सकारात्मक रहेको बताए। उनले प्रसारणको नियमित अनुगमन गरी समयअनुरुप परिमार्जन गर्दै देशैभर सुनिने रेडियो प्रसारण सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए।
मन्त्री खतिवडाले पछिल्लो समय फैलिएको कोभिड १९, कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर सचेत र सतर्कता अपनाउने गरी सबैमा जनसचेतनामुलक सुचना प्रचार सामग्री प्रसारण गर्न पनि आग्रह गरे।
सञ्चारमन्त्री डा. खतिवडाले रेडियो नेपालको वजेटको अर्धवार्षिक समीक्षा गर्न र त्यस अनुरुपको योजना बनाउन, रेडियो नेपालका बैद्धिक सम्पतिको संरक्षण तथा व्यवसायिक उपयोगमार्फत आम्दानी बढाउन, त्यसबाट पेन्सन कोषको व्यबस्था गराउन र रेडियो नेपालबाट प्रसारित गीत संगीतको डिजिटिलाईजेशन गरी त्यसबाट समेत आम्दानी गर्न निर्देशन दिए।
उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थानलगायतका राज्यका सञ्चारमाध्यमबीचको अनतर्सम्बन्ध बलियो हुनुपर्नेमा जोड समेत दिए।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समक्ष रेडियो नेपालले गरिरहेका कामकारवाही र आगामी योजनाका बारेमा जानकारी गराएका थिए।
त्यस अवसरमा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहेका सञ्चार मन्त्रालयका सचिव दिपक सुबेदीसहित मन्त्रालयका पदाधिकारीहरु पनि सहभागी थिए।


