रत्ननगर, साउन २ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवनले आज साउन २ गते शुक्रबार चितवनका शिक्षण संस्थाहरू बन्द (शैक्षिक हडताल) गर्ने घोषणा गरेको छ। यो कार्यक्रम शिक्षा क्षेत्रमा आमूल परिवर्तन, निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणाली स्थापना गर्ने मागसहित आयोजना गरिएको हो।
संस्थाका जिल्ला अध्यक्ष किरण गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको भाग २ धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने मौलिक हकको व्यवस्था भए पनि राज्यले शिक्षालाई व्यापार र व्यवसायको रूपमा सञ्चालन गर्न प्रोत्साहन दिएको छ, जुन संविधान र जनताको मौलिक हकविरुद्ध छ।’
अखिल (क्रान्तिकारी) ले २०२८ सालको शिक्षा ऐन खारेज गरी संविधानअनुरूप जनपक्षीय नयाँ शिक्षा ऐन जारी गर्न र शिक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग राख्दै आएको छ। यसका लागि संगठनले २०८२ असार २० गतेदेखि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साउन २ गतेको शैक्षिक हडताल सोही आन्दोलनको एक हिस्सा हो।
विज्ञप्तिमा निजी शिक्षण संस्थाहरूको जिम्मेवारी राज्यले लिनुपर्ने र निश्चित प्रक्रियामार्फत निजी शिक्षालयमा गरिएको लगानी फिर्ता तथा त्यहाँ कार्यरत जनशक्तिको व्यवस्थापन गर्नुपर्ने माग पनि राखिएको छ। ‘निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणाली सबैको हितमा छ,’ विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष गौतमले सम्पूर्ण शिक्षण संस्थाहरू, विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई साउन २ गतेको शैक्षिक हडतालमा सहभागी भई जनपक्षीय शिक्षा ऐनको पक्षमा उभिन अपिल गरेका छन्। उनले यो संघर्षमा सबैको साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन्।

