बकुलहर रत्ननगर अस्पतालमा रेबिजविरुद्ध खोप सेवा सुरू

Click Image

रत्ननगर, साउन १२ । बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन–एआरभी) सेवा सुरु भएको छ। रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन ज्ञवाली र जनस्वास्थ्य शाखा प्रमुख नारायण ढुङ्गानालाई भ्याक्सिन हस्तान्तरण गरी शुक्रबार उक्त सेवाको शुभारम्भ गरे।

उद्घाटन समारोहमा नगरप्रमुख सापकोटाले लामो प्रयासपछि अस्पतालमा रेबिज भ्याक्सिन सेवा उपलब्ध गराउन सफल भएको बताए। “यो सेवाले रेबिजविरुद्धको खोपका लागि सेवाग्राहीहरूलाई सहजता प्रदान गर्नेछ,” उनले भने। उनले रत्ननगर नगरपालिकाले अस्पतालसँग स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहजीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले प्रादेशिक अस्पतालमा मेसिन, उपकरणलगायतका सेवासुविधा विस्तारका लागि बागमती प्रदेश सरकारको सहयोग अपरिहार्य रहेकोमा जोड दिए।

अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यले अस्पतालमा सिटी स्क्यानको अभाव रहेको उल्लेख गर्दै रत्ननगर नगरपालिकासँग सहयोग र सहजीकरणको अपेक्षा गरे। कार्यक्रममा अस्पतालका सदस्य विश्वनाथ खनाल, जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत इन्द्रमणि भण्डारी, मेसु डा. मदन ज्ञवाली, रत्ननगर नगरपालिका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईं र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख डिएसपी रञ्जन अवाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा डा. शशांककुमार सिंहले रेबिज रोगबारे प्रस्तुति दिँदै नेपालमा वार्षिक ५० हजार व्यक्तिले एन्टी रेबिज भ्याक्सिन लिने र करिब एक सय जनाले रेबिजका कारण ज्यान गुमाउने गरेको तथ्यांक प्रस्तुत गरे। उनले कुकुर, स्याल, फ्याउरो र न्याउरी मुसाको टोकाइबाट रेबिज सर्ने भए पनि नेपालमा मुसा र बाँदरको टोकाइबाट रेबिजको केस नभेटिएको जानकारी दिए। “रेबिज लागिसकेपछि उपचार सम्भव छैन, त्यसैले जनावरले टोकेपछि तुरुन्तै टोकेको दिन, तेस्रो दिन र सातौं दिन गरी तीन डोज एआरभी लगाउनुपर्छ,” उनले भने। डा. सिंहले एआरभी पूर्ण सुरक्षित र भरपर्दो रहेको तथा गर्भवती महिलाले समेत लगाउन सकिने बताए।

अस्पतालका प्रयोगशाला प्रमुख सुरज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Previous article५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा साउन १५ र १६ गते
Next articleधादिङकी छोरी, चितवनकी शान — दिलिजा रुवाली ‘दि भ्वाईस अफ किड्स सिजन ४’ को चम्किलो तारा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।