वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा

क्याम्ब्रिज । डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनोट गर्न भइरहेको पार्टीको चुनावमा म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेनले अपेक्षित नतिजा ल्याउन नसकेपछि बिहीबार उम्मेदवारी परित्याग गरेको घोषणा गरेकी छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उनी एक मात्र महिला प्रतिनिधि थिइन् । अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्यान्डर्स र पूर्वउपराष्ट्रपति जो बाइडेन मात्र चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

गत मंगलबार सम्पन्न चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेकामा दुःखी भएकी ७० वर्षीया सिनेटर वारेनले म्यासाचुसेट्स राज्यको क्याम्ब्रिजस्थित निवासमा संवाददातासँग भनिन्, ‘मैले राष्ट्रपतिका लागि चुनावी दौड स्थगित गरेकी छु तर म प्रत्येक संघर्षशील व्यक्तिको पक्षमा निरन्तर कार्य गर्नेछु ।’

उनले राष्ट्रपतिको चुनावी दौडमा बाँकी रहनुभएका दुई वयोवृद्ध व्यक्ति जो बाइडेन वा बर्नी स्यान्डर्समध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णयमा पुगिनसकेको बताइन् ।
एमएसएनबीसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै सिनेटर वारेनले आफूले जो बाइडेनलाई अति सम्मान गर्ने तर उहाँसँग धेरै विषयमा विमति रहेको बताइन् । उनले स्यान्डर्ससँग आफ्नो नजिकको सम्बन्ध रहेको र धेरै विषयमा मिलेर सहकार्य गरेको प्रतिक्रिया दिइन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने गरी कुनै पनि महिला छनोट हुन नसक्नु दुःखद् भएको बताइन् । ‘अमेरिकी महिलाले देशको सर्वोच्च पदका लागि अरू चार वर्ष कुर्नुपर्ने भयो ।’

मिनेसोटाकी सिनेटर एमी क्लोबुचरले पनि यसै साता उम्मेदवारी परित्याग गरेकी थिइन् । अरू दुई महिला सिनेटर क्यालिफोर्नियाकी कमला ह्यारिस र न्युयोर्ककी कस्र्टन गिलिब्रान्डले पनि केहीअघि नै उम्मेदवारी छाडेका थिए ।
महिला वा नारीवादी स्वरलाई दबाइएको हो कि भन्ने प्रश्नमा सिनेटर वारेनले भनिन्, ‘महिलालाई माथिल्लो पद अझै दिनुहुँदैन भन्ने भ्रमपूर्ण मानसिकताले यसपटक पनि काम गरेको छ ।’

सिनेटर वारेनको घोषणाप्रति बाइडेन र स्यान्डर्स दुवैले ट्वीट गर्दै उनको प्रशंसा गरेका छन् । बाइडेनले भनेका छन्, ‘सिनेटर वारेनमध्यम वर्गीय परिवारका पक्षमा खरो रूपमा प्रस्तुत हुने प्रतिभाशाली लडाकू हुनुहुन्थ्यो । उहाँले म्यासाचुसेट्स र वासिङ्टनमा गर्नुभएको सेवाले साँच्चिकै आममानिसको जीवनमा निकै भिन्नता ल्याएको छ ।’
‘यस चुनावी दौडमा उहाँको आवाज अति नै जरुरी छ, र उहाँसँग सिनेटमा मिलेर कार्य गर्नुको विकल्प छैन ।’

स्यान्डर्सले पनि सिनेटर वारेनले चुनावी प्रतिस्पर्धा आम अमेरिकीको जीवनलाई परिवर्तन गर्ने गरी विशिष्ट ढंगबाट अगाडि बढाएको स्मरण गर्दै अमेरिकी धनाढ्यले आमअमेरिकीको जीवनमा परिवर्तन ल्याउन न्यायपूर्ण योगदान गर्नुपर्ने, वासिङ्टनमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने, जलवायु परिवर्तनका विषयलाई सम्बोधन गर्नुपर्ने, विद्यार्थीको ऋणमोचन गर्नुपर्ने तथा महिलाको अधिकार संरक्षण गर्नुपर्ने जस्ता जल्दाबल्दा विषयलाई वारेनले उठाएकी थिइन् ।

‘उहाँबेगर प्रगतिशील अभियानमा ठूलो धक्का लागेको छ ।’अघिल्लो दिन न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले पनि चुनावी प्रतिस्पर्धा त्यागेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वारेन र ब्लुमबर्गप्रति व्यंग्यमिश्रित ट्वीट गर्दै वारेनका कारण बर्नी स्यान्डर्सले म्यासाचुसेट्स, मिनेसोटा र टेक्सासको चुनाव हारेको र त्यसै कारण अब उनी अन्तिम चुनावी दौडमा पनि पराजित हुने सम्भावना बढेको बताएका छन् ।

The post वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा appeared first on Rajdhani Daily News.

साउदीमा काम गर्ने बिदेशी कामदारहरुले अब त्रैमासिक रुपमा आफ्न ईकामा नविकरण गर्नसक्ने

Previous articleसुजनाको विजयी सुरुवात
Next articleशुभ बिहानी??आज फागुन २४ गते शनिबार, तपाईंको आजको राशिफल हेर्नुहोस।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।