पिठुवा सानाकिसान कृषि सहकारीको छैटौं वार्षिकोत्सव: गुञ्जमानसिंह अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

रत्ननगर, चितवन — रत्ननगरको वडा नम्बर १४ मा रहेको पिठुवा साना किसान कृषि सहकारी संस्था लिमिटेड र मानव विकास तथा सामुदायिक सेवा (HDCS) द्वारा सञ्चालित गुञ्जमान सिंह अस्पतालबीच उपचार सेवामा सहुलियत दिने गरी सम्झौता सम्पन्न भएको छ।

सहकारीको छैटौं वार्षिक उत्सवको अवसर पारेर सोमबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार, सहकारीका सदस्य र उनीहरूका श्रीमान् , कर्मचारी तथा कार्यसमितिका सदस्यहरूले अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्।

यसअन्तर्गत, ओपीडी टिकटमा ५० प्रतिशत, ल्याब, एक्स–रे, इको, फिजियोथेरापी, ईसीजी, भर्ना सेवामा २५ प्रतिशत, भिडियो एक्स–रे तथा सर्जरीमा १५ प्रतिशत र फार्मेसी सेवामा १० प्रतिशत छुट प्रदान गरिने गरी सम्झौता गरिएको सहकारीकी अध्यक्ष विष्णु भण्डारी कट्टेलले जानकारी दिइन्।

सम्झौताअनुसार, सहकारीका सदस्यहरूले बीमा मार्फत उपचार लिँदा वा मेडिकल क्लेम गर्दा छुट दाबी गर्न पाउने छैनन्। छुट सुविधा लिनका लागि सदस्यता प्रमाणित गर्ने परिचयपत्र आवश्यक पर्ने व्यवस्था गरिएको छ।

दुवै संस्थाका प्रतिनिधिहरूले यो सम्झौताले सहकारीका सदस्यहरूलाई समयमै र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

वि.स २०७६ सालमा स्थापित संस्थामा झण्डै ९०० जना महिला शेयरसदस्यहरु छन्। महिलाहरूकै नेतृत्वमा स्थापित र सञ्चालित संस्थाले स्थापनाको छोटो समयमै आफ्नै जग्गामा भवन निर्माण गरी सोही भवनबाट सेवा प्रवाह गर्दै आइरहेको छ।

Previous articleइच्छाकामनाबाट एसइइ दिने सबैलाई एक्सपर्टको क्याल्कुलेटर
Next articleरत्ननगरस्थित जिएसटि कलेजको आयोजनामा भोलि ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।