उज्यालो नेपाल – चितवनको कालिकामा ब्युटीपार्लर तालिम सुरु गरिएको छ। कालिका नगरपालिकाको आयोजनामा ‘ गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम ‘ अन्तर्गत तालिम सुरु गरिएको हो।
तालिमको आज एक कार्यक्रमका बीच मेयर विनोद रेग्मीले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर रेग्मीले तालिमको सहि सदुपयोग गर्न आग्रह गरे।
‘तालिम लिएपछि आफू मात्र राम्री बन्ने हैन, व्यावसायिक बन्न आग्रह ‘ गर्दै, रेग्मीले तालिम लिएकाहरुले उद्यम सुरुगरे मात्र नगरपालिकाको लगानी सदुपयोग हुने विचार व्यक्त गरे। आधारभूत तालिम लिए पश्चात व्यवसाय सुरु गर्ने महिलाहरूलाई अर्को वर्ष एडभान्स तालिमको आयोजना गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
उद्घाटन कार्यक्रममै बोल्दै प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले नगरपालिकाले ल्याएको कार्यक्रमले बाट सिप सिकेर त्यो सीप प्रयोग गरी जीविकोपार्जन सहज बनाउन प्रशिक्षार्थीहरूलाई आग्रह गरे।
कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख प्रकाश चन्द्र पौडेलले सीप सिकेका व्यक्ति कहिले पनि भोकै मर्नु नपर्ने कुरा बताए।
कालिका वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रम लघु उद्यम सहजकर्ता सन्तोषी कुमालले सञ्चालन गरेकी थिइन्।
२५ जना महिला प्रशिक्षार्थीहरू रहेको तालिम ४५ दिनसम्म सञ्चालन हुनेछ।