रवि लामिछानेलाई नक्खु कारागार अड्डासार गर्ने निर्णय

३० साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् । कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आजै उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ ।

‘नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,’ शर्माले भने । शर्माका अनुसार, लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो । ‘उहाँको मन्जुरीनामा नै लिखित रुपमा नक्खु कारागार भनेर माग्नुभएको थियो । त्यही अनुसार निर्णय गरेर पठाएका हौं,’ शर्माले भने ।

गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताएका थिए । महानिर्देशक शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर उनको कारागार सरुवा हुनेछ ।

‘रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले उहाँ (रवि लामिछाने) लाई नक्खु कारागार ल्याउने प्रक्रिया अघि बढाउँछ,’ शर्माले भने ।

Previous articleरत्ननगरस्थित जिएसटि कलेजको आयोजनामा भोलि ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुने
Next articleरत्ननगर–१६ मा तीज गीत प्रतियोगिता सम्पन्न, जौबारी टोल प्रथम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।