रत्ननगर–१६ मा तीज गीत प्रतियोगिता सम्पन्न, जौबारी टोल प्रथम

Click Image

रत्ननगर (चितवन) । हरितालिका तिजको अवसरमा रत्ननगर–१६ पिठुवामा आयोजना गरिएको बृहत तीज गीत प्रतियोगिता शनिबार सम्पन्न गरिएको छ। “सफा, सुन्दर र समृद्ध वडा, स्वस्थ जीवन आजको आवश्यकता” भन्ने शीर्षकमा आयोजित प्रतियोगितामा वडाभित्रका विभिन्न टोल विकास संस्था तथा संघसंस्थाबाट ११ वटा समूहले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा जौबारी टोल विकास संस्थाले प्रथम स्थान हासिल गर्दै नगद रु. २० हजार प्राप्त गरेको छ। त्यस्तै, भानु मेमोरियल आवासीय माध्यमिक विद्यालय द्वितीय हुँदै रु. १५ हजार प्राप्त गरेको छ भने खैरेटी टोल विकास संस्था तृतीय स्थानमा रही रु. १० हजार प्राप्त गरेको छ।

सान्त्वना पुरस्कारतर्फ वनदेवी टोल विकास संस्था, हात्ती गाडी टोल विकास संस्था र नमुना कुँवर टोल विकास संस्थाले जनही रु. ५ हजार प्राप्त गरेका छन्। त्यस्तै उत्कृष्ट नृत्यतर्फको उपाधि पनि जोबारी टोल विकास संस्थाकी आयुष्मा बजगाईंले जितेकी छन्।

प्रतियोगिताको उद्घाटन सत्रमा कार्यक्रम संयोजक पुरुषोत्तम लामिछानेले कार्यक्रम सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा पिठुवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु भण्डारी कट्टेल, पिठुवा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नेत्र घिमिरे, राप्रपाका वडा अध्यक्ष डिल्ली गौतम, पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए।

वडा अध्यक्ष हेमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर–१५ का वडा अध्यक्ष आशिक तामाङ, वडा सचिव मञ्जु पौडेल, जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारी, पिठुवा गरिबी निवारण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश घलान, सामाजिक व्यक्तित्व जयन्द्र कुमार श्रेष्ठ, वडास्तरीय जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष प्रेमप्रसाद पन्त, सातकन्या सामुदायिक वनका अध्यक्ष रामहरि पनेरु, भद्रकाली माविका प्रधानाध्यापक चिरञ्जीवी खनाललगायतको सहभागिता रहेको थियो।

वडा सदस्य रिता विकले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपहार कोइरालाले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने उद्यमी महिलाद्वय मुना कोइराला र सन्तोषी पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमका अध्यक्षसमेत रहेका वडा अध्यक्ष हेमराज थापाले वडालाई वातावरणमैत्री वडा घोषणा गर्ने योजनाअनुरूप तीज गीत प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनका अनुसार आवश्यक सूचकहरू पूरा गर्दै निकट भविष्यमा वडा वातावरणमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको छ।

Previous articleरवि लामिछानेलाई नक्खु कारागार अड्डासार गर्ने निर्णय
Next articleपरामर्श व्यवसायीहरुको साझा संस्था बन्ने लक्ष्य सहित नेक्सा स्थापना, यस्तो बन्यो कार्यसमिति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।