आजबाट मौसम सफा, गर्मी बढ्ने सम्भावना

पश्चिमी वायु बाहिरिएसँगै आज (आइतबार)देखि देशभरको मौसम सफा हुने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हिजो शनिबार बेलुकाबाट पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको हो।

योसँगै अब वर्षा तथा हिमपात हुने सम्भावना नरहेको उनले बताए।

‘आज देशभरकै मौसम सफा हुने र अधिकांश स्थानमा घाम लाग्ने सम्भावना देखिन्छ,’ वरिष्ठ मौसमविद् पौडेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘पश्चिम र पूर्वी पहाडी भेगका एक/दुई स्थानमा साँझपख छिटफुट वर्षा हुने सम्भावना मात्र छ।’

अहिले प्रिमनसुन अवधि हो। यस अवधिमा स्थानीय वायुको प्रभाव हुन्छ।

तर पश्चिमी वायुसमेत मिसिँदा भने बदली र वर्षा बढ्छ। यसअघि यी दुवै वायुको प्रभाव रहेकाले देशका धेरै स्थानमा राम्रै वर्षा भएको वरिष्ठ मौसमविद् पौडेलले बताए।

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार सबैभन्दा बढी वर्षा दाङमा २७.४ मिलिमिटर वर्षा भएको छ। दोस्रोमा पोखरामा २५.८ मिलिमिटर वर्षा भएको छ भने यसपछि दिपायलमा २४.२ मिलिमिटर वर्षा भएको छ।

यसैगरी काठमाडौं उपत्यकामा ८.१ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांकमा उल्लेख छ।

‘धेरै ठाउँमा चट्याङ पनि परेको छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘मकवानपुरमा चट्याङले एक जनाको ज्यानै गएको खबर सुनिएको छ तर हावाहुरी खासै आएको पाइएन।’

आज काठमाडौं उपत्यकाको मौसम पनि दिनभर सफा रहने र घाम लाग्ने देखिएको उनले बताए।

गर्मी बढ्ने
अहिले बिहान बिहान चिसो हुने गरेको छ।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हिमपात तथा वर्षा भएकाले बिहान बिहान चिसो बढेको हो। यो क्रम भोलिसम्म जारी रहने उनले बताए।

तर अब बिस्तारै तापक्रम बढ्ने भएकाले गर्मी बढ्ने उनको अनुमान छ।

‘बिहान बिहान चिसो हुने क्रम भोलि (सोमबार)सम्म रहला,’ उनले भने, ‘दिनभर घाम लाग्न थाल्यो भने तापक्रम बढेर देशभर गर्मी बढ्ने देखिन्छ।’

वर्षाले जमिन भिजेकाले घामले तताउँदा वाष्पीकरण भई गर्मी बढ्ने मौसमविद् बताउँछन्।

तर फेरि बादल बन्ने र वर्षा हुने क्रम यो प्रिमनसुन अवधिमा जारी रहने वरिष्ठ मौसमविद् पौडेलले बताए।

भद्रकाली युवा क्लबको प्रथम साधारणसभा तथा अधिवेसन सम्पन्न

Previous articleआज अन्तर्राष्ट्रिय नारीदिवस
Next articleराहदानी विभागको लापर्बाहीले सरकारले गुमायो डेढ करोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।