
राष्ट्रिय फुटबल टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका दुई खेलाडीले यो पटक पनि भारतको शीर्ष डिभिजनको महिला लिग खेल्न भारत गएका हुन्।
गत संस्करण सेथु एफसीलाई च्याम्पियन बनाउन मद्दत गरेका यी दुई नेपाली खेलाडीले यो पटक भने फरक क्लबबाट खेल्नेछन्।
यो संस्करण अनिता सेथु एफसीमा र साम्बा गोकुलममा अनुबन्ध भएकी छिन्।
यसपटक साम्बालाई धेरै क्लबबाट प्रस्ताव आएको थियो। साम्बा भन्छिन्,‘धेरै क्लवबाट प्रस्ताव आएको थियो तर मैले गोकुलम रोजे।’

साम्बालाई गत संस्करण पनि गोकुलमले प्रस्ताव गरेको थियो। उनीहरुलाई टोलीले कति रकममा अनुबन्ध गरेको छ भनेर दुबैले खुलाएका छैनन्।
प्रतिष्ठित आई लिग जनवरी २४ बाट सुरु हुँदैछ। लिगमा सहभागी १२ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। राउण्ड रोविनपछि २ समुहका शिर्ष २ टोलीले अन्तिम ४ मा स्थान बनाउनेछन्।
नेपालका लागि अन्तर्राष्ट्यि फुटबलमा पहिलोपटक व्यवसायिक रुपमा खेल्ने साम्बा र अनिता पहिलो महिला खेलाडी हुन्।
यस अघि अनिता र सावित्राले माल्दिभ्सको फुटसल लिग पनि खेलेका थिए। गत संस्करण सेथु एफसीले ईन्डियन वुमन लिगको उपाधि उचालेका थियो।
भारतको लुथियानास्थित गुरु नानक स्टेडियममा भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस् क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेथुले उपाधि हात पारेको थियो। फाइनलमा नेपाली साम्बाले २ गोल गरेकी थिइन्।
त्यसबेला प्रतियोगिताको ६ खेलमा पहिलो रोजाईमा मैदान उत्रेकी साम्बाले ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिईन्। भारतमा उनले निकै चर्चा कमाएकी थिइन्।
त्यसबेला एक खेलमा पहिलो रोजाईमा मैदान प्रवेश गरेकी अनिता बस्नेतको नाममा भने १ गोल रह्यो। लिगको नियमअनुसार एक खेलमा १ जना विदेशी खेलाडी मात्र खेलाउन पाउने नियम अनुसार कम मौका पाएकी अनिताले मैदानमा कम उत्रने अवसर पाएकी थिइन्।
भारतीय फुटबल महासंघले सन् २०१६ बाट इन्डियन महिला लिग आयोजना गर्दै आएको छ।
