कोरोना जोखिमका बेला तराईमा होली झन् दुई दिन

कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले होली नै नखेल्न सरकारले आग्रह गरिरहेका बेला तराईमा भने यसपालि झन् दुई दिन मनाइने भएको छ।

आज (सोमबार) फागुपूर्णिमा। पहाडी र हिमाली क्षेत्रमा आपसमा फागु र रङ दलेर आज फागु पर्व अर्थात् होली मनाइँदै छ।

तराईमा भने भोलि मंगलबार र बुधबार दुई दिन होली मनाइने भएको छ।

तराई-मधेसमा १५ दिने मिथिला परिक्रमा समापन भएको भोलिपल्ट होली खेल्ने परम्परा छ।

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा गरी सोमबार समापन हुँदै छ। त्यसकारण तराईमा भाेलि मंगलबार हाेली मनाइने भएकाे हाे। 

तर तराईमा मंगलबारका दिन माछामासु बार्ने चलन रहेकाले त्यस्ता व्यक्तिले त्यसको पनि भोलिपल्ट अर्थात् बुधबार होली मनाउने भएका हुन्।

यसले गर्दा यसपालि तराईमा होली मंगलबार र बुधबार दुई मनाइने भएको जानकी मन्दिरका सहमहन्त रामरोशनदास वैष्णवले बताए।

तराई–मधेसका मांसहारीमध्ये धेरैले मंगलबार माछामासु बार्ने चलन छ। माछामासु नखाए होली मनाएजस्तै नहुने भएकाले त्यस्ता तराईवासीले बुधबार होली खेल्ने भएका हुन्।

तर सहमहन्त वैष्णव भने यसपालि विश्वभर फैलिरहेको कोरोना भाइरसबाट बच्न माछामासु नखान तथा मंगलबार नै होली मनाउनु उचित हुने बताउँछन्।

‘माछामासुबाटै कोरोना भाइरस उत्पत्ति भएको भन्ने सुनिन्छ। त्यसैले यसपटक माछामासु नखाइ मंगलबार नै होली मनाउँदा उचित हुन्छ भन्ने मेरो सबैलाई सुझाब छ,’ उनले भने।

प्रादेशिक अस्पताल जनकपुरका वरिष्ठ चिकित्सक जनरल फिजिसियन डा। कुल्दीप पण्डितले पनि कोरोना संक्रमणको जोखिमबाट बच्न जथाभावी माछामासु नखान सुझाव दिएका छन्।

‘माछामासु प्रायः आयातित बस्तु हो। कहाँबाट आएका हुन्छन्, कस कसले छोएका हुन्छन्। थाहा हुँदैन। त्यसैले त्यसमा पनि कोरोनाको भाइरस टाँसिएको हुन सक्छ। यसबाट सचेत हुनुपर्छ। सकभर नखाएकै राम्रो। तर खाँदा सतर्कता अपनाउनुपर्छ,’ उनले भने।

होली खेल्दा सकभर रङ र पानीको प्रयोग नगर्न र अबिरले पनि सामान्य रूपमा सकेसम्म खुट्टामा अबिर चढाएर होली खेल्न उनको सुझाव छ।

होली पर्व मनाउन प्रदेश २ सरकारले सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ।

गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

Previous articleकोरोनाः साउदीले पनि लगायाे ९ देशका नागरिकलाई प्रतिबन्ध
Next articleसवारी दुर्घटना हुँदा सुनसरी र माेरङमा २ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।