काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने सङ्कटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामका साथ मनाइएको छ । यो जात्रा विशेषगरी यहाँका आचार्य र प्रधान समुदायले मनाउने गर्छन् । पनौतीमा मनाउँदै आएको विभिन्न जात्रामध्येको सङ्कटा जात्रा र अबिर जात्रा पनि एक हो । पनौती नगरपालिका–७ त्रिवेणीघाटमा रहेको सङ्कटा मन्दिरबाट बाजागाजासहित शुरु भएको जात्रा बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।
पौराणिककालदेखि मनाउँदै आएको भए पनि विभिन्न कारणले निरन्तरता दिन नसकेको जात्रा २०६७ सालदेखि भिन्तुना ग्रुप पनौतीको अगुवाइमा वार्षिकरुपमा मनाउँदै आएको सङ्कटा जात्रा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले बताए । विशेषगरी पारिवारिक सुख र समृद्धिको कामनाका साथ सबैको सुख, शान्ति र मेलमिलापको कामना गर्दै सङ्कटमोचन होस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले भने, ‘यो जात्रा मनाएपछि पारिवारिक र समाजमा सङ्कटमोचन हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।’
सो जात्रासँगै यहाँका स्थानीय बासिन्दाले एकापसमा अबिर लगाएर अबिर जात्रासमेत मनाएको छ । आपासी सद्भाव, खुशी र उमङ्गको पर्वका रुपमा मनाउँदै आएको फागु पूर्णिमालाई यहाँका स्थानीय बासिन्दाले अबिर जात्राका रुपमा मनाउँदै आएको छ । विभिन्न बाजागाजा बजाएर बजार परिक्रमा गर्दै एकापसमा रङ दलेर अबिर जात्रा मनाएको कर्माचार्यले बताए । यस वर्ष जात्रा मनाउनका लागि स्थानीय प्रवीण कर्माचार्यको संयोजकत्वमा जात्रा व्यवस्थापन समिति गठन गरी जात्रालाई व्यवस्थित ढङ्गले मनाएको हो ।

The post सङ्कटा जात्रा र अबिर जात्रा मनाइयो appeared first on Rajdhani Daily News.


