घर झगडाको परिणाम, श्रीमानमाथि तेजाब प्रहार

काठमाडौं । तार्केश्वर नगरपालिका–४ काठमाडौंको पुरानो गुह्येश्वरीमा श्रीमान् श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमान्माथि तेजाब प्रहार गरेकी छन् ।

तार्केश्वर पुरानो गुह्येश्वरीको एक घरमा भाडामा बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि उनकी श्रीमती प्रतिमाले विवाद बढ्दै जाँदा तेजाब आक्रमण गरेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोमबार राति घरमा सुतिरहेका बेला थापामाथि तेजाब प्रहार भएको हो । घरमा झ्यालढोका लगाएको तथा कोठाभित्रै सुतिरहेको अवस्थामा तेजाब आक्रमण भएकाले श्रीमतीबाटै आक्रमण भएको प्रहरीको भनाइ छ ।

‘घरका झ्यालढोका बन्द रहेको र सुतिरहेको अवस्थामा तेजाब प्रहार भएको देखिन्छ, घरभित्रैबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ डीएसपी राठौरले राजधानीसँग भने ।

प्रहरीले प्रतिमालाई मंगलबार नै पक्राउ गरेको छ । उनीसँगै उनका तीन महिनाका बच्चालाई समेत प्रहरीको रेखदेखमा बालाजु वृत्तमा राखिएको छ । ‘हामीले बच्चालाई रेखदेखमा रहने गरी राखेका छौं, महिला प्रहरीमार्फत बच्चाको हेरचाह गर्ने र आमासँगै राखेर दूध खुवाउने व्यवस्था गरिएको छ,’ डीएसपी राठौरले भने ।

तेजाब आक्रमणपछि घाइते भएका थापाको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार तथा हातमा तेजाबको असर छ । उनी खतरामुक्त छन् ।

प्रहरीका अनुसार घरमा प्रतिमा र तीन महिनाका बच्चा मात्र थिए भने कोठामा बियरको बोतलमा तेजाब भेटिएको थियो ।
घाइते थापाले समेत आफूमाथि श्रीमतीबाटै तेजाब आक्रमण भएको बताएका छन् । घाइते अवस्थामा अस्पताल पु¥याइएपछि होसमा आएका उनले श्रीमतीबाटै आफूमाथि आक्रमण भएको बताएका हुन् ।

प्रहरीका अनुसार थापा दम्पतीबीच पटक–पटक विवाद हुँदै आएको थियो । श्रीमान्भन्दा उमेरमा तीन वर्ष जेठी प्रतिमा एक होटलमा काम गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनका श्रीमान् भने सवारीचालक हुन् ।

उनीहरूबीच करिब ६ वर्षअघि विवाह भएको खुलेको छ । प्रतिमाको यो दोस्रो विवाह हो । उनीहरूका घरबेटीले समेत थापा दम्पतीबीच आपसी अविश्वासका कारण पटक–पटक विवाद हुने गरेको जनाए ।

The post घर झगडाको परिणाम, श्रीमानमाथि तेजाब प्रहार appeared first on Rajdhani Daily News.

रत्ननगर बालमैत्री नगर घोषणा

Previous articleप्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम
Next articleभारतमा होली मनाएर नदीमा नुहाउने क्रममा १५ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।