कोरिया जाने श्रमिकको भिसा थप्न नेपालको आग्रह

दक्षिण कोरिया जाने श्रमिकको भिसाको म्याद सकिन लागेपछि ईपीएस कोरिया शाखाले भिसाको म्याद थप गरिदिन आग्रह गरेको छ।

शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार मार्चभित्रमा उडान नभए त्यहाँ जाने तयारीमा रहेका श्रमिकको भिसाको म्याद सकिने छ।

कोरियामा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि त्यहाँ जाने तयारीमा रहेका श्रमिकको उडान पछि धकेलिएको छ। यसरी जाने तयारीमा करिव एक सय श्रमिक रहेको निर्देशक खनालले बताए।

भिसा जारी भएको तीन महिनाभित्रमा त्यहाँ पुगिसक्नुपर्छ। तर मार्चभित्रैमा श्रमिक कोरिया जाने अवस्था आयो भने भिसा थपिरहनु नपर्ने पनि खनालले नेपालखबरसँग बताए।

भिसाको म्याद सकिएर समस्या नहोस् भनेर नेपालस्थित कोरिया दूतावासलाई पत्र पठाइसकिएको छ। म्याद सकिन लागेको भन्दै त्यहाँ जाने तयारीमा रहेका श्रमिक अतालिन थालेको र कोरिया पनि श्रमिक लैजान तत्पर रहेको भएपनि नेपाल अहिले नै त्यहाँ श्रमिक पठाउने पक्षमा नरहेको खनालले बताए।

कोरियामा अवस्था सहज भए मार्चभित्रै श्रमिक पठाउन कुनै समस्या नहुने ईपीएस शाखाले जनाएको छ।

दक्षिण कोरियाले सन् २००८ देखि नेपाली श्रमिक ईपीएसमार्फत लैजान थालेको हो। हालसम्म ६० हजार बढी श्रमिक ईपीएस मार्फत त्यहाँ पुगिसकेका छन्। हाल करिव ४० हजार त्यहाँ कार्यरत छन्।

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

Previous articleहोली खेलेर नुहाउने क्रममा १५ जनाको मृत्यु
Next articleपाकिस्तानी लडाकु बिमान दुर्घटनाग्रस्त
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।