दलितलाई कोठाबाट निकाल्ने घरबेटीसहित चार जना पक्राउ

काठमाडौंमा एक युवतीलाई दलित भनेर कोठाबाट निकाल्ने घरबेटीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

तारकेश्वर नगरपालिका–१० स्थित नेपालटारका घरबेटी श्रीकृष्ण बिडारीको घरबाट आफूलाई दलित भएकै कारण निकालेको भन्दै दीपा नेपालीले जाहेरी दिएकी थिइन्।

बिडारी सरकारी कर्मचारी हुन्।

बिहीबार जाहेरी परेपछि आइतबार श्रीकृष्णकी श्रीमती राधिकालाई बालाजु प्रहरीले पक्राउ गरेको थियो। श्रीकृष्ण मंगलबार प्रहरीमा आफैं उपस्थित भएका थिए। घरधनी बिडारी दोलखाको लामाबगरस्थित सीमा प्रशासन कार्यालयका प्रमुख थिए। मंगलबार उनको सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

सोही घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषी ढुंगानालाई बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका इन्चार्ज प्रहरी नायब उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए।

dipa-nepali46.jpgप्रहरीमा उजुरी दर्ता गराउँदै दीपा

चारैजनाविरुद्ध गत बिहीबार दीपाले जातीय भेदभाव तथा छुवाछुतको कसुरमा उजुरी दर्ता गरेकी थिइन्।

बिडारीको घरमा दीपा भाइबहिनीसहित मंसिर १३ गतेदेखि बस्दै आएकी थिइन्। दुईवटा कोठा भाडामा लिएकी दीपाले मासिक आठ हजार रुपैयाँ भाडा तिर्थिन्। आफूहरुलाई दलित भनेको चिनेपछि घरबाट निस्कन दबाब दिन थालेको दीपाले बताएकी छन्।

फागुन १२ गते घरबेटीले घरमा बस्ने सबैलाई कोठा खाली गरिदिन भन्दै सूचना टाँसेका थिए। तर, घरबेटीले आफूलाई मात्रै निकाल्न खोजेको दीपाको गुनासो छ।

कसैले जातकै आधारमा विभेद वा छुवाछुत गरे तीन वर्षसम्म कैद र २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था ऐनमा छ। राष्ट्रसेवकले यस्तो कसुर गरेमा भने थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था छ।

रेमिटेन्स आम्दानी बढाउन श्रममन्त्री श्रेष्ठका दर्जन प्रस्ताव

Previous articleकोरोना प्रकोपः चिकित्सकहरुको सुझाव मानेनन् ट्रम्पले, छाडेनन् हात मिलाउन
Next articleइटलीमा कोरोना नियन्त्रण गर्न चीनले चिकित्सक र विज्ञको टोली पठाउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।