पश्चिमी वायुको प्रभाव बढ्दै, दुई दिन असिना-पानी र हावाहुरीको सम्भावना

0
60

नेपालमा पश्चिमी वायुको प्रभावले मौसम बदली हुने क्रम बढ्दै गएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) पश्चिमी वायुको प्रभाव पश्चिम क्षेत्रमा सीमित भए पनि भोलि (शुक्रबार) यसको असर देशभर फैलिनेछ।

‘आज दिउँसो/साँझपख पश्चिमका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ,’ महाशााखाका मौसमविद् मीनकुमार अर्यालले बिहीबार बिहान नेपालखबरसँग भने, ‘भोलि (शुक्रबार)देखि भने पश्चिमी वायुको प्रभाव देशभर फैलिने र देशका धेरै ठाउँमा हावाहुरीसहित असिना–पानी पर्ने सम्भावना देखिएको छ।’

उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु दुवैको प्रभावले आंशिक बदली भएको छ भने मध्य र पूर्वी पहाडमा स्थानीय वायुको प्रभावले मौसम आंशिक बदली छ।

आंशिक बदली भनेको कहिले घाम कहिले बादल देखिने अवस्था हो।

पश्चिमबाहेक देशका अन्य स्थानका तराई क्षेत्रमा भने अहिले मौसम सामान्यतया सफा छ।

काठमाडौं उपत्यकामा पनि अहिले मौसम आंशिक बदली छ। काठमाडौं उपत्यकासहति मध्य र पूर्वी क्षेत्रमा आज पानी पर्ने सम्भावना नरहेको मौसमविद् आर्यालको भनाइ छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २९ गते  
दिउँसोः देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका थोरै स्थानहरुमा दिउसो/साँझपख मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।

रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडि भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना छ।

फागुन ३० गते  
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी भूभागका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। केही स्थानमा असिना/हावाहुरीको समेत सम्भावना छ। मध्य र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।

रातीः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भूभागलगायत मध्यका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना छ। पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।

चैत्र १ गते  
दिउँसोः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। केही स्थानमा असिना/हावाहुरीको समेत सम्भावना छ।

रातीः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना छ।

 

सुनको मूल्य तोलाकै एक लाख नाघ्यो

Previous articleप्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका, डिस्चार्जबारे निर्णय हुन बाँकी
Next articleत्रिशूलीमा हामफाल्ने नवविवाहित युवतीका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दा