भारतीय सेना हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुने

काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको आज बस्ने बैठकमा कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संकल्प प्रस्ताव पेश हुने भएको छ । नेकपा सांसद खगराज अधिकारीले कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्दैछन् ।

पूर्वमन्त्रीसमेत रहेका अधिकारीले चार महिनाअघि नै यो संकल्प प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । सो प्रस्तावको समर्थक नेकपाकै सांसद रामकुमारी झाँक्री छिन् । बैठक आज बिहान ११ बजे बस्दैछ ।

यस संकल्प प्रस्तावले नेपाल–भारत सीमा विवाद समाधान गर्न र कालापानी क्षेत्रबाट भारतीय सैनिक फिर्ता गराउन सरकारलाई दबाब हुने विश्वास गरिएको छ । संकल्प प्रस्तावमा ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकाले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ पेश गर्न लागिएको भन्ने उल्लेख छ ।

भारतीय विदेश मन्त्रालयले भने आफ्नो नक्सामा कुनै क्षेत्र थपघट नगरिएको दाबी गर्दै आएको छ ।

The post भारतीय सेना हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुने appeared first on Koshi Online.

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’ बन्दै

Previous articleओखलढुंगामा जिप पल्टिँदा १२ घाइते
Next articleवीरेन्द्रनगरले फोहरबाट ऊर्जा उत्पादन गर्ने, १३०० घरधुरी लाभान्वित हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।