काठमाडौं, ५ चैत्र । चीनको हुवानबाट फैलिएको कोरोना भाइरस अर्थत् कोभिड-१९ अहिले विश्वको १६५ देशमा फैलिएको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरना भाइरसको संक्रमणबाट विश्वभर ७ हजार ९६५ जनाको मृत्यु भइसकेको छ । भने १ लाख ९६ हजार संक्रमित भएका छन् ।
हालसम्म विश्वव्यापी रूपमा कोरोनाबाट संक्रमितमध्ये ८१ हजार ७ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ७ हजारभन्दा बढी जटिल अवस्थामा छन् । उक्त भाइरसबाट सबैभन्दा बढी चीनमा मृत्यु भएको छ । अहिलेसम्म चीनमा ३ हजार २२६ जनाको मृत्यु भएको छ । तर अहिले भने चीनमा कोरोनाको संक्रमण भने घटेको छ । चीनले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भइसकेको घोषणासमेत गरेको छ ।
अहिलेसम्म चीनमा जम्मा ८० हजारमा संक्रमण देखिएको छ, त्यसमध्ये ६८ हजार पूर्ण रूपमा निको भएका छन् भने ३ हजार २ सय जना जटिल अवस्थामा रहेका छन् । अहिले चीनामा ८ हजार ९६७ जनामा मात्रै कोरोनाको संक्रमण रहेको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।
युराेपमा व्यापक संक्रमण
पछिल्लो समय कोरोनाको उद्गम मानिएको चीनभन्दा बाहिर अर्थात् युरोप क्षेत्रमा यसको संक्रमण व्यापक बनिरहेको छ । युरोपका केही देशमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा सयाैँकाे मृत्यु हुने गरेकाे छ । चीनपछि दाेस्राे धेरै संक्रमित र मृतक इटलीमा रहेका छन् भने त्यसपछि मध्यपूर्वकाे देश इरानमा यसकाे संक्रमण व्यापक बनेकाे छ । त्यसैगरी स्पेन, जर्मनी, फ्रान्स, अमेरिका दक्षिण काेरिया लगायत देशमा यसकाे प्रकाेप बढी देखिएकाे छ ।
हालसम्म इटालीमा कोरोनाका कारण २ हजार ५०३ जनाको मृत्यु भइसकेको छ । त्यहाँ मंगलबार मात्रै ३४५ जनाले ज्यान गुमाएका छन् । साेमबार मात्रै ३४९ जना र आइतबार ३९६ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म इटालीमा काेराेनाकाे संक्रमण हुनेकाे संख्या ३१ हजार ५२६ पुगेकाे छ ।
इरानमा अहिलेसम्म ९८८ जनाकाे मृत्यु भएकाे छ, जसमध्ये १३५ जना मंगलबार मात्रै मरेका छन् । अहिलेसम्म स्पेनमा ५३३ को मृत्यु भएको छ, जसमध्ये १९१ जनाकाे मंगलबार मात्रै मृत्यु भएकाे छ । बेलायतमा पनि पछिल्लो एकै दिनमा १६ जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ७१ पुगेको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १०९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै अमेरिकामा २३ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय भन्दा बढीमा नयाँ संक्रमण देखा परेको छ ।
नेपालमा मात्रै पूर्ण समाधान
काेराेना भाइरसकाे तीव्र रूपमा फैलिरहँदा विभिन्न देशले संक्रमणलाई समाधान गर्नकाे लागि विभिन्न सतर्कता अपनाएकाे छ । स्रोत, साधनले सम्पन्न देशहरुले कोरोना भाइरसको संक्रमण केही समाधान गरेकाे पनि पूर्ण रूपमा गर्न सकेकाे छैन । तर नेपाल मात्र त्यस्तो देश हो, जसले संक्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।
नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा ती व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ । काेराेना संक्रमण देखा परेकाे देशभित्र नेपाल पनि समावेश छ । चीनकाे हुवानबाट फर्किएका एक विद्यार्थीमा काेराेना देखिएको थियो ।
नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र संक्रमण देखिएको थियो । बाँकी सबै संक्रमणमुक्त भेटिएका थिए । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ संक्रमण नदेखिनुलाई अभूतपूर्व सफलता मानिएको छ ।


