चन्द्रागिरि नगरपालिका २ स्थित नागढुंगा नाकामा बनाइएको ‘डिसइन्फेक्सन टनेल’ को शुक्रबार उद्घाटन गरिएको छ ! चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले टनेलमा जडान गरेको स्विच थिचेर उद्घाटन गरेका हुन्। उद्घाटन भएसँगै शुक्रबारदेखि ‘डिसइन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ। चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीलाई निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको बताए।
चन्द्रागिरि नगरपालिका-२ का वडा अध्यक्ष गोपी सुर्खेतीले तीन महिनासम्मका लागि टनेलका लागि आवश्यक सामग्री व्यवस्थापन भइसकेको बताए। ‘तीन महिनासम्म टनेलका लागि चाहिने आवश्यक केमिकल, पानी, आवश्यक जनशक्ति, विद्युत सडक लाइटको व्यवस्थापन भइसकेको छ’, उनले भने।

सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो भने चन्द्रागिरि नगरपालिकाले स्थान,पानीको व्यवस्थापन सुरक्षाको प्रवर्द्धन गरिएको मेयर घनश्याम गिरीले बताए। नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्पिङ नाकामा पनि निर्माण गर्ने योजना रहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए।



