आज मात्र १० जनामा कोरोना पोजेटिभ: नेपालमा कोरोना संक्रमितको संख्या ६९

२१ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् । उता बिरगंजमा पनि आजै एकजनामा कोरोना संक्रमण देखिएको थियो !

किट नहुँदा विराटनगरमा कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिन बन्द

२१ वैशाख, विराटनगर । कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट (आरएनए एक्ट्रयाक्सन किट) माग गर्दै कोशी अस्पतालले दुई पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखिसक्यो । तर मन्त्रालयले किट नपठाउँदा कोशी अस्पतालको कोरोना परीक्षण ल्याबको अटोमेटिक मेसिन एक सातायता बन्द छ ।

मन्त्रालयले रिएजेन्ट किट नपठाएका कारण सामान्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने बाध्यता रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् । ‘मेसिनबाट एकै पटक ७२ वटा स्वाब परीक्षण गर्न सकिन्छ’ उनले भनिन् ‘मन्त्रालयले रिएजेन्ट किट नपठाउँदा समस्या छ ।’ शनिबार प्रदेश सरकारले कोरोना परीक्षणका लागि छुट्टै ल्याब थप गरेको छ । तर कोशी अस्पतालको ल्याब पूर्ण क्षमतामा सञ्चालन भएको छैन । सामान्य रुपमा परीक्षण गर्दा काम थोरै हुने र रिपोर्ट पनि ढिलो आउने मेसु मिश्राले बताइन् ।

प्रदेश १ मा मात्र ३१ जना कोरोना संक्रमित छन् । संक्रमण देखिएको स्थानमा परीक्षणको दायरा बढाउनुपर्ने भए पनि रिएजेन्ट अभावमा संकलन भएका स्वाबको परीक्षण पनि ढिलो भएको मिश्राले बताइन् । ‘किट नहुँदा मेसिन चल्ने कुरा भएन । म्यानुअल गर्दा थोरै मात्र परीक्षण गर्न सकिन्छ’ उनले भनिन् ‘मन्त्रालयमा दुई पटक पत्र लेखेर पठाएका छौं, आउँछ होला ।’ कोशी अस्पतालले हालसम्म ६४१ जनाको स्वाब परीक्षण गरेको छ ।

मन्त्रालयमा पनि थोरै छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल अटोमेटिक मेसिनमा प्रयोग हुने किट मन्त्रालयमा पनि थोरै मात्र रहेको बताउँछन् । मन्त्रालयमा भएका सामग्रीलाई आवश्यकता अनुसार वितरण गरिने उनले बताए ।

महानगरप्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

Previous articleनेपालीलाई बासी खाना र प्रहरीको लट्ठी; नेपाल भारत सिमानाको क्वारेन्टाईन मै जन्मियो बच्चा
Next articleकान्तिपुर टिभीमा नयाँ काण्ड: समाचारमा ‘आम्मामा ३ अर्बमा कति खायो होला?’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।