२१ वर्ष देखि पितृ बोलाउदै सुन्तली

तपाइँको परिवारमा मरेको व्यक्ति उसकै लय तथा आवाजमा बोल्छन् भन्दा तपाइँलाई पत्यार नलाग्ला । नलाग्नु पनि स्वभाविकै हो ! तर एक पटक ‘सुन्तली दमिनी’ को मा पुगेपछि भने तपाइँको भ्रम, भ्रममा सीमित हुन्छ । किनकी यहाँ पितृ बोल्छन्। सुन्तलीसँग पितृ बोलाउने कला छ। हुँगी–७ पाल्पाकी ‘सुन्तली दमिनी’ को वास्तविक नाम शान्ता परियार हो। तर उनलाई सुन्तली भनेर सम्बोधन गर्ने गरिन्छ। उनी २१ वर्षदेखि पितृ बोलाएरै जीविका चालएकी छिन्।

शनिबार बिहान झिसमिसे उज्यालोमा ‘सुन्तली दमिनी’ को मा पितृ बोलाउनेको भीड थियो । भीडमा धेरै युवा पनि थिए। युवा अवस्थामा ग्रह दशा, भाग्यरेखा र पीतृ बोलाउने भन्ने धेरैलाई विश्वास लाग्दैन । त्यही भीडमा थिए रामपुर–१० पाल्पाका बिष्णु आचार्य । उनले आफू अरुको लहलहैमा लागेर पितृ बोलाउने भन्दै बिहान पाँच बजे हुँगी आएको बताए । उनी भन्छन्, ‘विश्वास नलागे पनि धेरैले मरेको व्यक्तिको अभिनयमै भूत, वर्तमान र भविष्य जानकारी हुन्छ भन्ने सुनेको थिएँ।

हजुरबुबाले गरेका कार्यहरु र मृत्युपछिको उहाँको जीवनी पनि सुन्न पाएँ ।’ आचार्यसँगै आएका सोही स्थानका कक्षा १२ मा अध्ययनरत गोविन्द गौतम जीवनमा के गर्ने ? कसरी अगाडि बढ्ने भन्ने जानकारी प्राप्त गर्दा खुसी भएको बताए । उनले यहाँ आएर सुन्तलीले भनेका सम्पूर्ण कुराहरु मिल्दोजुल्दो भएको बताउँछन् ।

मदनपोखरा–६ पाल्पाका विष्णु भुसालले अकालमा मरेका पितृसँग उसकै अभिनयमा बोल्ने मौका पाएपछि पाँच पटक सुन्तलीकोमा हेराउनको लागि आएको बताए। ‘पहिलो पटक आउँदा सामान्य लागेको थियो। जति आउँदै गएँ आफ्ना मरिसकेका आफन्तजनको सम्झना बल्झिन लाग्यो । यहाँ आएर असेट मेटेको अनुभूति हुन्छ,’ भुसालले भने।

उनले परिश्रम गर्दा पनि मेहनतको फल नपाएपछि निराश बनेकाहरुलाई पितृसँग बोलेर आफ्नो भविष्य जानकारी पाउँदा आशा भरिने गरेको अनुभव नागरिकलाई सुनाए । ‘अपत्यारिलो तर वास्तविक आवाजमा वास्तविकता जानकारी पाइन्छ,’ उनले भने। स्थानीय बिर्खकुमारी पछाइले धेरैले विश्वास गरेर हेराउनको लागी यहाँ भीड लागेको देख्ने गरेपछि आफूपनि पितृसँग बोल्न पालो पर्खेर बसेको बताइन्।

यतिबेला सुन्तली दमिनीसँग पितृ बोलाउने मानिसको कुनै कमी छैन्। धेरैले उनको मोबाइलमै फोन गरेर आफ्नो पालो (समय) लिने गछन् । यहाँ विभिन्न जिल्लाहरुसँगै भारतको दिल्ली, लखनउ, मद्रास, मुम्बई र विहारबाट समेत मानिसहरु आउने गरेको बताइन्। उनले आफूलाई तल्लो जातकै दर्जामा सुन्तली दमिनी भनेर सम्बोधन गरे पनि कुनै संकोच नहुने बताउँछिन् । मेरो पेशाकै कारण धेरै जात, धर्म, लिंग, पेशा तथा समूदायका व्यक्तिहरुसँग सम्पर्क स्थापित भएको छ ।

पितृमोक्ष कार्यकालागि पितृसँग बोल्न धेरै ठाउँबाट मानिसहरु आउने गर्दछन् । ‘अठार वर्ष भयो, यही पेशाबाटै मेरो जीविका चलेको छ । दुई छोरा र चार छोरीहरु सहितको परिवार धानिएको छ,’ उनले भनिन्। उनीले दैनिक ३० देखि ३५ जना व्यक्तिहरुको भूत, वर्तमान र भविष्य बताउने अनुभव सुनाइन् । अकालमा ज्यान गुमाउँनेहरुको मृतआत्मा आफ्नो शरीरमा अनुभव बताउन प्रकट हुने र सोही अनुसार आफुले बोल्ने गरेको शान्ता परियारले बताइन् ।

उनले बिहानै नुवाई धुवाई गरेर भगवानको आराधना गरी पितृ बोलाउने कार्यमा राती अबेरसम्म सक्रिय हुने गर्छिन् ।
पितृ बोलाउनको लागि कुनै विज्ञापन पनि गरेकी छैनन्, सुन्तलीले । उनीकहाँ एकपटक पुग्ने मानिसहरुले व्यक्तिगत सञ्चार गरेकै कारण उनलाई खोजीखोजी हेराउने मानिसहरु हुन्छन् । स्याङजा घर भएका युवाले नाम नबताउने सर्तमा आधुनिक समयमा पितृ बोलाउने र आफ्नो भविष्य खोज्ने व्यक्तिहरु यस्तो अन्धविश्वासलाई समेत चिर्न नसकिने अनुभव गरेको बताए ।  मुक्तिप्रसाद न्यौपाने/ नागरिक न्युज 

‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

Previous articleहेलिकप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै
Next articleमृत्यु भएकी हजुरआमा नातिनीमा उत्रेपछि घरमा रुवाबासी, १७ बर्षीय युवतीमा पितृ बोले (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।