चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना

0
53

चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना

-महेश पाण्डे
चितवन । चितवनमा पुस्तक व्यवसायीको सिण्डिकेटकै कारण सर्वसाधारणले पुस्तक किन्दा पाउने छूट पाउन सकेका छैनन् । अझ महत्त्वपूर्ण कुरा त के भने ग्राहकलाई किताब किन्दा छूट दिएको भन्दै पुस्तक व्यवसायीलाई पुस्तक बिक्रीमा रोक लगाउनुका साथै दस हजार जरिवाना गराइएको छ ।

पूर्वी चितवनको रत्ननगर २ टाँडीमा रहेको न्यु गोर्खाली पुस्तक पसलका सञ्चालक नारायण रेग्मीले रु ५०० लिएर किताब किन्न आएका एक विद्यार्थीलाई आफूले ४९० को किताब रु २५ को कलम पनि उक्त पैसामा छूट दिई बेचेको भन्दै आफूलाई रु १० हजार जरिवाना र छ महिनादेखि होलसेल पसलले नयाँ पुस्तक नदिएको जानकारी दिए ।

उनले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन र पुस्तक व्यवसायी संघ पूर्वी चितवनले होलसेल पसललाई आफूलाई नयाँ पुस्तक नदिन उर्दी नै जारी गरेको कारण आफूले पुस्तक नपाएको गुनासो पोखे । रेग्मीले मुख्य मुख्य होलसेलको कमाण्डमा सञ्चालनमा रहेको नेपाल पुस्तक व्यवसायी महासंघ चितवन शाखा चितवनमा बिनादर्ता सञ्चालनमा रहेको जानकारी दिँदै सर्वसाधारणलाई सामान्य कलममा छूट दिएकोमा छ महिनादेखि किताब नदिनु र १० हजार जरिवाना लगाउनु गलत र कानुनसम्मत नभएको जिकिर गरे ।

उनले पब्लिकेसनले ब्यवसायीलाई ४० प्रतिशत छूट दिने गरेकोमा होलसेलर र महासंघको मिलेमतोमा २५ प्रतिशत हुँदै हालका दिनमा २० प्रतिशतमा झारेर ठगी गरेको आरोप पनि लगाए ।उनले गतवर्षमात्रै १७ जनालाई यसरी नै १० हजार जरिवाना गरिएको बताए । रेग्मीले यस विषयमा एक हप्ताअगाडि जिल्ला प्रशासन कार्यालयमा पुस्तक बेच्न पाऊँ भनी निवेदन दिएकोमा अहिलेसम्म कुनै पहल नभएकोमा दुखेसो पनि पोखे ।

नेपालीको आवाज डटकमले अहिलेसम्म भएका कारबाहीको विषयमा खोजबिन गर्दा पत्रका आधारमा केही व्यवसायीलाई नयाँ शैक्षिक शत्रको किताब नदिई कारबाही गर्न उर्दी नै जारी गरिएको पाइएको छ । पत्रमा क्षेत्रीय संयोजक डिलिन्द्रराज पौडेलको हस्ताक्षर रहेको छ । जसमा न्यु गोर्खाली पुस्तक पसल, टाँडी, मनकामना पुस्तक पसल र पंकज पुस्तक पसल नारायणगढलाई सफाइ पत्र नपाई होलसेल पसललाई नयाँ शैक्षिक शत्रको किताब नदिन भनिएको छ ।

यस विषयमा पुस्तक व्यवसायी तथा क्षेत्रीय संयोजक डिलिन्द्रराज पौडेलसँग जिज्ञासा राख्दा उनले अंकित मूल्यभन्दा घटाएर बेच्न नपाउने संस्थाको नियम भएकोमा उक्त नियमको उल्लंघन पहिला पनि भएकाले कारबाही गरिएको स्वीकार गरे । उनले व्यवसायी रेग्मीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिई सकेकाले अब जे हुन्छ उतै हुन्छ भन्ने उत्तर दिए ।

त्यस्तै, २०७६ मंसीर २७ गते नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारी र कार्यक्रम संयोजक किरणकुमार खनालले विभिन्न होलसेल पसलमा पत्र लेखी न्यु गोर्खाली पुस्तक पसल टाँडी, शर्मा पुस्तक पसल टाँडी र मनकामना पुस्तक पसल सुब्बाचोकलाई पुस्तकसम्बन्धी कुनै पनि कारोबार नगर्न र नगराउन अनुरोध गरेर पत्र काटेका थिए । यस विषयमा शर्मा पुस्तक पसलका सञ्चालक दीपक शर्मासँग बुझ्दा आफूले पनि १० हजार जरिवाना तिरेको स्वीकार गरे ।

कुनै पनि ग्राहकले किताबजस्तो महत्त्वपूर्ण वस्तुमा छूट तथा सहुलियत पाउनु उनीहरुको अधिकारको कुरा हो । तर, नाफा गुम्ने डरले महासंघको नाममा कुनै पनि ग्राहकलाई किताबमा छूट नदिन र दिए उसलाई होलसेलबाट पुस्तक नै उठाउन नदिने नियम लगाएर सिन्डिकेट लगाउनु कुनै हालतमा कानुनसम्मत नरहेको एक अभिभावकले गुनासो पोखे ।

यतिसम्म कि हालसम्म जरिवाना भनेर पुस्तक व्यवसायीले तिरेका पैसाको बिलमा सहयोग भनेर लेखिएको छ । अब प्रश्न यहाँ पनि खडा हुन्छ कि आखिर जरिवाना गराउनु कानुनसम्मत थियो भने जरिवाना भनेर चिन्ह लगाउन किन सकिएन ? यस विषयमा जिल्ला प्रशासन कार्यालयले गम्भीर चासो राख्नु आवश्यक देखिन्छ । नेपालीको आवाज डटकम

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

Previous articleपारसको १२ लाख खाएको आरोप लागेपछि सोनिकाले यस्ताे भनिन्
Next articleनेपाली महिलाहरु बत्ति बालेर शा’रीरिक सम्बन्ध राख्न नचाहनुको कारण यस्तो !